वाणिज्य बैंकहरुले लिए २४ खर्ब बढी स्थायी तरलता सुविधा, कति तिर्छन् राष्ट्र बैंकलाई ब्याज ?



काठमाडौं । वाणिज्य बैंकहरुले शुक्रबारसम्म २४ खर्ब १० अर्ब १२ करोड ३४ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् ।

राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि कात्तिक १८ गते उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले राष्ट्र बैंकबाट यस्तो सुविधा लिने गरेका छन् ।

१ हजार ३९० वटा कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । कात्तिक ६ गते बैंकहरुले ८७ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।

साउन १ यता बैंकहरुले सबैभन्दा बढी यो सुविधा लिएको कात्तिक ६ गते हो । यस्तै कात्तिक १४ गते ७५ करोड १६ लाख ७४ हजार रुपैयाँ सुविधा लिएका थिए ।

यस्तै असोज १४ गते ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ यो सुविधा लिएका छन् भने भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका थिए । यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका थिए ।

राष्ट्र बैंकका अनुसार अहिलेसम्मकै कम यो सुविधा असोज ७ गते जम्मा ४ अर्ब ४१ मात्रै बैंकहरुले लिएका छन् । बैंकहरुले नगद व्यवस्थापन गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

बढी ब्याज पर्ने भएकाले सामान्य अवस्थामा बैंकहरुले एसएलएफ सुविधा लिँदैनन् । तरलताको चरम अभाव भएपछि बैंकहरुको अन्तिम विकल्प एसएलएफ सुविधा हुने गरेको छ । अहिले अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ ।


क्लिकमान्डु