रियलमीको ‘युआई विजेट को-क्रियसन क्याम्पेन’ हुने



काठमाडौं । स्मार्टफोन उत्पादक ब्रान्ड रियलमीले ‘रियलमी युआई विजेट को–क्रियसन’ क्याम्पेनको आयोजना गर्ने भएको छ । कम्पनीले एप डेभलपर, यु–एक्स डिजाइनर तथा स्मार्टफोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि सर्वसाधारणले समेत यो क्याम्पेनमा सहभागी हुन पाउने बताएको छ ।

कम्पनीकाअनुसार यो क्याम्पेनमार्फत रियलमीले विश्वभरमा रहेका आफ्ना प्रशंसकहरूसँग मिलेर नयाँ रियलमी युआई विजेटको सह सिर्जना गर्ने तरिकाले भौतिक र डिजिटल दुवै क्षेत्रलाई जोड्ने छ । क्याम्पेनमार्फत रियलमीको आगामी दिनमा यु–आई विजेट कस्तो हुनेछ भन्नेमा सहभागीहरूले प्रभावकारी भूमिका खेल्न र सह–सिर्जना गर्न अवसर पाउने कम्पनीले जनाएको छ ।

क्याम्पेनमार्फत निर्माण हुने विजेट नयाँ, भिन्न र डिजाइन युक्त मात्रै नभएर उपभोक्ताहरूको दैनिक प्रयोगका लागि आवश्यक विशेषताहरू हुने कम्पनीले विश्वास गरेको छ । सँगै यो विजेटलाई हरेक पटक फोनको स्क्रिन अनलक गर्दा आवश्यक सूचनाहरू पनि दिने किसिमको डिजाइन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार यो क्याम्पेनमा भाग लिनका लागि कात्तिक २९ गते दिउँसो २ बजेसम्म आफूसँग भएको सोच कम्पनीलाई दिन सकिनेछ । यसमा एक सहभागीले एक वा एकभन्दा धेरै सोचहरू दिन सक्नेछन् । यसरी पठाइएका आइडियाहरू छनोट भएपछि मंसिर २२ गते सार्वजनिक हुनेछन् ।

छनोट भएको र मान्य भएका आइडिया पठाउने सहभागीहरूलाई रियलमी जिटि नियो ३ र एक्स्लुसिभ कम्युनिटी ब्याज दिइनेछ भने सहभागी सम्पूर्णले नयाँ रियलमि यु आइ विजेटको प्रयोग अरूको तुलनामा चाडै गर्न पाउने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । 


क्लिकमान्डु