दलका घोषणापत्रमा स्वास्थ्य बीमा प्राथमिकतामा, बीमा सम्बन्धी समेटिएका यस्ता छन् अन्य योजना



काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हालसम्म नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा एमालेले मंसिरमा हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् ।

घोषणापत्र सार्वजनिक गर्ने राजनैतिक दलहरुले बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।

जसमध्ये दलहरुले स्वास्थ्य बीमा प्राथमिकता दिएका छन् । नेपाली कांग्रसले घोाषणापत्र सार्वजनिक गर्दै स्वास्थ्य बीमा रकमको दायरा बढाई १० लाख पुर्याउने र आगामी ५ वर्षभित्रमा सबै नागरिकमा स्वास्थ्य बीमाको पहुँच पुर्याउने उल्लेख गरेको छ ।

यस्तै, एकीकृत समाजवादी पार्टीको घोषणापत्रमा गरिबीको रेखामुनि रहेका जनताका लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने घोषणापत्रमा उल्लेख छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्रमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका सबै बीमितले आफुले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाइने घोषणापत्रमा भनिएको छ । स्वास्थ्य बीमाामा बीमितलाई गर्नुपर्ने स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको समस्यालाई कडाईका साथ नियमन गरी व्यवस्थापन गरिने उल्लेख छ ।

स्वास्थ्य बीमा रकमको दायरा बढाई १० लाख पुर्याईने

नेपाली कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले आधारभुत बाहेकका सबै स्वास्थ्य बीमाबाट हुने गरी सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई पनि एकीकृत गर्दै स्वास्थ्य बीमामार्फत सञ्चालन गर्ने जनाएको छ ।

जसका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिने कांग्रेसले सार्वजजिनक गरेको घोषणापत्रमा उल्लेख छ ।

बीमा रकमको दायरालाई बढाई १० लाख पुर्याईने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, घोषणापत्रमा आगामी ५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बीमा र बीमामार्फत गम्भिर प्रकृतिका रोगको उपचार सुनिश्चितता गरिने समेत उल्लेख छ । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क बीमा गरिने घोषणापत्रमा भनिएको छ । यस्तै, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वंसेविकालाई निःशुल्क बीमा गरिने कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

गरिबीको रेखामुनि रहेका जनताका लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने

एकीकृत समाजवादी पार्टीले सबै नागरिकलाई सहजरूपमा अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने घोषणा गरेको छ । गरिबीको रेखामुनि रहेका जनताका लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने उल्लेख छ ।

निम्न आय भएका कृषकहरूको जीविकोपार्जनका लागि राज्यद्वारा आय आर्जनका स्रोतको व्यवस्था र कृषि उत्पादन तथा पशुपंक्षी उत्पादनमा संलग्न किसान एवं उद्यमीहरूलाई कृषि बीमाको लागि आवश्यक रकम अनुदानमा दिने नीति बनाइने घोषणापत्रमा भनिएको छ ।

स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको समस्यालाई कडाईका साथ नियमन गरी व्यवस्थापन गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो घोषणापत्रमा बीमालाई समेटेको छ । सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बीमाको दायरामा ल्याईने जनाएको छ ।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका सबै बीमितले आफुले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाइने घोषणापत्रमा भनिएको छ । स्वास्थ्य बीमाामा बीमितलाई गर्नुपर्ने स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको समस्यालाई कडाईका साथ नियमन गरी व्यवस्थापन गरिने समेत प्रजातन्त्र पार्टीको घोषणापत्रमा उल्लेख छ ।

साथै, वैदेशिक रोजगारीका क्रममा विदेशमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यव्स्था गरिने समेत उल्लेख छ । कृषि तथा बाली बीमाको व्यवस्था गरिने जनाईएको छ ।

बीमाको पहुँच बढाउँदै बीमा कम्पनीको वित्तीय क्षमता बढाईने

नेपाल समाजवादी पार्टीले कृषि तथा पशु बीमा कार्यक्रम र बीमामा पहुँच गरी २ बुँदामा बीमालाई समेटेको छ । कृषि तथा पशु बीमा कार्यक्रममाः कृषिजन्य कार्यहरु सर्बमा प्रभावकारी बीमा कार्यक्रममार्फत लगानी सुरक्षित गरिने उल्लेख गरिएको छ ।

यस्तै, बीमामा पहुँच: सहजरुपमा बीमा सेवा उपलब्ध हुने व्यवस्था गरिने, बीमाको पहुँच बढाउँदै पुनःबीमा कम्पनीको वित्तीय क्षमता बढाईने र सबै सहकारी संस्थाहरुलाई समेत बीमामा आवद्ध गरिने घोषणापत्रमा भनिएको छ । यस्तै, ५ वर्षभित्र सबैलाई स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने समेत बताईएको छ ।

बीमा प्रिमियमबापत मुलुक बाहिर रकम जाने क्रमलाई नियन्त्रण गरिने

नेकपा माओवादीले कृषि बीमा र बीमाको दायरा वृद्धि गरिने घोषणापत्रमा उल्लेख गरेको छ । कृषि बीमालाई गाउँ-गाउँमा पुर्याउन, बीमाको दायरा बढाउन, बीमांक रकमलाई व्यवहारिक बनाउन र बीमा दाबी भुक्तानी सेवालाई छिटो–छरितो तुल्याउन कृषि बीमा व्यवस्थालाई पुनसंरचना गरिने माओवादीले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

बीमाको दायरा वृद्धि गरी खासगरी कृषि, पशुपन्छीपालन तथा जडीबुटी व्यवसायका हरेक उपक्षेत्रमा समेत बीमाको प्रभावकारी व्यवस्था गरिने उल्लेख छ । बीमा प्रिमियमबापत मुलुक बाहिर रकम जाने क्रमलाई नियन्त्रण गरिने, गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मका बिउ पुँजी बिना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने त्यस्तोसञ्चालित व्यवसायको बीमा गर्दा प्रिमियममा ९० प्रतिशत अनुदान दिने व्यवस्था गरिने छ ।

सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा संलग्न गराउने, गरिब तथा विपन्न परिवारलाई स्वास्थ्य बीमा निःशुल्क गर्ने, स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने स्वास्थ्य सेवाको दायरा र गुणस्तर बढाउने तथा सहजरुपमा स्वास्थ्य सेवा प्राप्त हुने व्यवस्था गरिने उल्लेख छ ।

सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने

घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमालेले सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने जनाएको छ ।

‘सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने छ । सहकारी ऋण सूचना, तरलता व्यवस्थापन तथा कारोबार क्लियरिङ्गको व्यवस्था गरिने छ’ एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाइने एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

आगामी ५ वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसकिने घोषणापत्रमा उल्लेख छ । स्वास्थ्य बीमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वाथ्य केन्द्रहरूबाट उपलब्ध हुने गरी सनिश्चित गरिने एमालेले जनाएको छ ।

यस्तै, कृषि औजार र उपकरण स्वदेश मै उत्पादन गरी उपलब्ध गराइने, सबै स्थानीय तहमा कोल्डस्टोरेज र गोदाम सविुधा उपलब्ध गराइने छ । गोदाममा राखिएका कृषि उपजका आधारमा ऋण लिन पाउने व्यवस्था गर्ने, र हानी नोक्सानी हुनबाट बचाउन बीमाको व्यवस्थासहित निश्चित अनुदान समेत दिइने घोषणापत्रमा उल्लेख छ ।

कृषि उपजको बीमाको व्यवस्था गरिने समेत उल्लेख छ । साथै, सबै साना कृषक तथा साना व्यवसायीलाई लघबीमा सेवा उपलब्ध हुने उल्लेख छ ।


क्लिकमान्डु