सन् २०३० सम्ममा विद्युतीय सवारी उत्पादनमा १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी



एजेन्सी । विश्वका ठूला सवारी साधन निर्माता कम्पनीहरुले सन् २०३० सम्ममा १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी गरेका छन् ।

रोयटर्सअनुसार सन् २०३० सम्ममा हजारौं विद्युतीय सवारी साधनसँगै ब्याट्री र कच्चा पदार्थ उत्पादनका लागि विश्वका ठूला सवारी साधन कम्पनीहरुले १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी गरेको जनाएको छ ।

रोयटर्सले एक वर्षअघि विद्युतीय क्षेत्रमा ५० हजार करोड डलर खर्च हुने अनुमान गरेको थियो । तर, यो वर्षको संकलित तथ्याङ्कअनुसार गत वर्षको तुलनामा दोब्बर खर्च गर्ने तयारीमा रहेको रोयटर्सले जनाएको छ । उक्त लगानी निकै ठूलो रहेको रोयटर्सको भनाइ छ ।

अल्फाबेट (गुगल) कम्पनीको गुगल र वेयमोको जम्मा १३ खर्ब अमेरिकी डलरको लगानी छ । सवारी साधन निर्माताहरुले सन् २०३० सम्ममा ५४ लाख ब्याट्री र ५० प्रतिशत विद्युतीय सवारी साधन उत्पादन गर्ने योजना बनाएको अध्ययनले देखाएको छ ।

बेन्चमार्क मिनरल इन्टिलिजेन्स एण्ड द म्यानुफ्याचरर्को तथ्याङ्कअनुसार विद्युतीय क्षेत्रलाई विस्तार गर्नका लागि कार निर्माता कम्पनीहरुले सन् २०३० सम्ममा प्रतिघण्टा ५.८ टेरावाट ब्याट्री उत्पादन क्षमताको योजना बनाइरहेको जनाएको छ ।

विश्वमा विद्युतीय सवारी साधन निर्माता कम्पनीको रुपमा अग्रणी स्थानमा रहेको टेस्लाले आगामी २०३० सम्ममा २० लाख विद्युतीय सवारी साधन बनाउने योजना बनाएको छ । टेस्लाका सिइओ एल मस्कले उक्त सवारी साधनमा प्रतिघण्टा ३ टेरावाट ब्याट्रिको आवश्यक पर्ने जनाएको छ । टेस्लाले यसअघि नै विद्युतीय सवारी साधनको मूल्य आधा घट्ने प्रक्षेपणसहित मोडल ३ र मोडल वाई सार्वजनिक गरी काम गरिसकेको छ ।

त्यसैगरी, जर्मनीमा उत्पादन हुँदै आएको फक्सवागनले पनि सन् २०३० सम्ममा विद्युतीय क्षेत्रमा उच्च खर्च गर्ने तयारी गरेको छ । कम्पनीले विश्वव्यापी रुपमा यो दशकको अन्त्यसम्ममा १ अर्ब अमेरिकी डलर खर्च गर्ने कम्पनीको तयारी छ । कम्पनीले यूरोप र उत्तर अमेरिकामा ‘गिगाफ्याक्टरीज’ खोल्ने र कच्चा पदार्थको वितरण गर्ने योजना बनाएका रोयटर्सले जनाएको छ ।

त्यस्तै, जापानको टोयटा मोटोकर्पले सन् २०३० सम्ममा विद्युतीय सवारी साधन र ब्याट्री उत्पादनका लागि ७० अर्ब अमेरिकी डलर खर्च गर्ने भएको छ । कम्पनीले सो अवधिमा ३५ लाख विद्युतीय मोडलका ब्याट्री बिक्री गर्ने अपेक्षा गरेको छ । जसमा कम्पनीले विभिन्न प्रकारका ३० वटा विद्युतीय ब्याट्रीको मोडल र लेक्सस रेन्जको ब्याट्रीलाई समेत विद्युतमा रुपान्तरण गर्ने योजना बनाएको छ ।

फोर्ड मोटर कम्पनीले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै सन् २०३० सम्ममा ५० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । कम्पनीले कम्तिमा घण्टाको २४० गिगावाट क्षमताको ब्याट्री उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले सो अवधिमा ३० लाख इलेक्ट्रिक ब्याट्री मोडल उत्पादन गर्ने भएको छ ।

मर्सिडिज बेन्चले विद्युतीय सवारीको विकास र उत्पादनका लागि ४७ अर्ब अमेरिकी डलर खर्च गर्ने भएको छ । कम्पनीले विश्वव्यापीरुपमा दुई तिहाई साझेदारहरुसँग प्रतिघण्टा ब्याट्रीको क्षमता २०० गीगावाटभन्दा बढी बढाउनका लागि खर्च गर्ने भएको छ ।

साथै, बीएमडब्लू, स्टेलान्टिस र जेनरल मोटर्सले सन् २०३० सम्ममा ३५/३५ अर्ब अमेरिकी डलर खर्च गर्ने भएका छन् । कम्पनीहरुले इलेक्ट्रिक सवारी साधन र ब्याट्री उत्पादनका लागि सो रकम खर्च गर्ने भएको रोयटर्सले उल्लेख गरेको छ ।

स्टेलान्टिसले सबैभन्दा आक्रमक ढङ्गले ब्याट्री उत्पादन गर्ने योजनासहित प्रतिघण्टा ४०० गिगावाटको ब्याट्री उत्पादन गर्ने योजना बनाएको छ । साथै, कम्पनीले अमेरिकामा ४ वटा उद्योग स्थापना गर्ने भएको छ ।


क्लिकमान्डु