सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट सानिमा जनरल र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार शुरु
काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्सले आज (कात्तिक ७) देखि एकीकृत करोबार शुरु गरेका छन् । कम्पनीहरूले सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।
बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि यी दुवै कम्पनीले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
दुवै कम्पनीहरूको असोज ११ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको थियो ।
बीमा समितिले असोज १४ गते अन्तिम स्वीकृतिपत्र दिएको थियो । यस्तै, नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले अजोस २७ गते स्वीकृति दिएको थियो ।
त्यसपश्चात संयुक्त मर्जर समितिको असोज ३१ गतेको निर्णयले सानिमा जिआइसी इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।
हाल सानिमा जनरल र जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १÷१ अर्ब रूपैयाँ छ । नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता २ अर्ब रूपैयाँ पुग्ने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई आगामी चैत मसान्तभित्रमा साढे २ अर्ब रूपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ । नियामकले तोके बमोजिमको पुँजी कायम गर्न यी कम्पनीहरूलाई अझै ५० करोड रूपैयाँ पुँजीको आवश्कता देखिन्छ ।
बीमा क्षेत्रमा यो दोस्रो मर्जर हो । यस अघि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबार शुरु गरेका थिए ।