ओलाले सार्वजनिक गर्‍यो हालसम्मकै सस्तो विद्युतीय स्कुटर, अब कार उत्पादन गर्ने



एजेन्सी । विद्युतीय दुई पाङ्ग्रे सवारी साधन ओलाले हालसम्मकै सस्तो स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले तिहारको अवसर पार्दै शनिबार एसवान मोडलको स्कुटर अपडेट गर्दै एसवान एयर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरिएको एसवान एयर स्कुटरको मूल्य ९४ हजार ९९९ भारतीय रुपैयाँ तोकेको छ । तर, अक्टोबर २४ अर्थात् भोलिसम्म बुक गर्ने सेवाग्राहीले भारतीय रुपैयाँ ७९ हजार ९९९ मा उक्त स्कुटर पाउने कम्पनीले जनाएको छ । उक्त स्कुटर ९९९ मा बुक गर्न सक्ने कम्पनीको भनाइ छ । अहिले बुक गरिएको स्कुटर अर्को अप्रिलबाट डेलिभरी शुरु हुने कम्पनीले जनाएको छ ।

सार्वजनिक गरिएको स्कुटर १५ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । कम्पनीअनुसार स्कुटरमा अटोमेटिक लक र अनलक व्यवस्था हुने छ । यदि कुनै पनि स्कुटर चालक टाढा गएमा आफैं लक हुनेछ । साथै, अपडेट गरिएको स्कुटर अपरेटिङ सिस्टम ३ (ओएस३) को सुविधा रहेको जनाइएको छ । यसअघि कम्पनीको अपरेटिङ २ को स्कुटरहरु बजारमा आइरहेको थियो ।

त्यसैगरी, कम्पनीले एसवान एयर स्कुटर फुल चार्च गरेमा १०१ किलोमिटरसम्म गुड्न सक्ने दाबी गरेको छ । जसमा सो स्कुटर प्रतिघण्टा ९० किलोमिटरको स्पिडमा गुड्ने र शून्यदेखि ४० किलोमिटरको स्पिड ४.३ सेकेण्ड गुड्ने कम्पनीले जनाएको छ । कम्पनीअनुसार स्कुटरमा म्यूजिक सिस्टमलाई पनि अपग्रेड गरिएको छ ।

अहिले एसवान स्कुटर ५ कलरमा उपलब्ध छन् ।

बजारमा अहिले ओला कम्पनीको एसवान र एसवान प्रो मोडल गरी दुई प्रकारका स्कुटर उपलध छन् । एसवानको मूल्य भारतीय रुपैयाँ ९९ हजार ९९९ र एसवान प्रोको भारतीय रुपैयाँ १ लाख ४० हजार तोकेको छ । त्यसमध्ये अहिले सार्वजनिक गरिएको स्कुटर हालसम्मकै सस्तो हो ।

त्यस्तै, ओला कम्पनीले आगामी २०२४ मा विद्युतीय कार उत्पादन गर्ने जनाएको छ । कम्पनीले ५०० किलोमिटर रेन्जको कार सार्वजनिक गर्ने योजना बनाएको सञ्चारमाध्यममा उल्लेख छ । उक्त कार ४ सेकेन्डमा प्रतिघण्टा १०० किलोमिटर स्पिडमा गुड्ने कम्पनीको दाबी छ ।


क्लिकमान्डु