भाइटीकामा के दिने उपहार ? यी बन्न सक्छन् उपयुक्त विकल्प



काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली अर्थात तिहार आजबाट सुरु भएको छ । काग तिहारसँग तिहारको रौनक सुरु भएको छ । बत्ती र रंगहरुको पर्व तिहार दिदी बहिनी र दाजु भाइबीचको आत्मियताको पर्व हो ।

धार्मिकरुपमा दाजुभाइको दीर्घ जीवनका लागि दिदीबहिनीले पूजाअर्चना गर्ने पर्व तिहारको टीका यसपटक बिहीबार परेको छ ।

सप्तरंग दाजुभाइ र दिदीबहिनीलाई लगाउने प्रचलन रहेको छ । टिका पछि दिदीबहिनीले दाजुभाइ र दाजु भाइले दिदीबहिनीलाई दक्षिणा(पैसा) र उपहारहरु दिने गरिन्छ । मरमसला, सेलरोटी, मिठाइसहितका परिकारसँग सँगै उपहार एक अर्कालाई दिएर खुसी साट्ने गरिन्छ ।

तिहारमा दिदी बहिनी वा दाजु भाइलाई के ‘गिफ्ट’ दिने सोचिरहनु भएको छ भने यहाँ त्यस्ता केही उपहारबारे चर्चा गरिएको छ । उपहार दिनेभएसँगै त्यस्ता चिजले दैनिक जीवनमा पनि काम दिन सक्यो भने त्यसले फाइदा पुग्छ ।

कपडा

टिकाका क्रममा दिदी भाइ वा दाजु बहिनीलाई खाली हात भन्दा केही उपहार दिन उपयुक्त हुन्छ । त्यसका लागि कपडा राम्रो विकल्प हुन सक्छ । तपाईंले उपहार दिन खोज्नु भएका दाजु भाइ वा दिदी बहिलाई नजिकिँदो जाडो मौसमको ख्याल गर्दै कपडा उपहारका लागि दिन सकिन्छ । त्यसका लागि स्वेटर वा सर्ट/टिसर्ट लगायतका सामाग्री उपहार दिन सक्नु हुन्छ । यो परम्परागत उपहार हो ।

स्मार्टवाच
यदी तपाईं यात्रा र आउटडोर स्पोर्ट्स मन पराउनु हुन्छ भने स्मार्टवाच गिफ्ट गर्न सक्नु हुन्छ । एक प्रिमियम फिनिशका साथ, सामसुङ ग्यालक्सी वाच ५ प्रो एक टिकाऊ टाइटेनियम केसिङमा रहेको छ र यसमा १.४ इन्च सुपर एमओएलइडी, फुल-कलर, अलवेज अन डिस्प्ले रहेको छ । त्यस्तै बजेट अनुसारका अन्य स्मार्टवाचहरु पनि गिफ्ट गर्न सकिन्छ । युवा पुस्ताका दिदी बहिनी र दाजु भाइलाई गिफ्ट गर्दै हुनुहुन्छ भने स्मार्टवाच एक राम्रो उपहार विकल्प बन्न सक्छ ।

फिटनेश व्याण्ड
पछिल्लो समय मानिसहरुले आफ्नो फिटनेशलाई विशेष ध्यान दिने गरेका छन् । पछिल्लो समय फिटनेश ट्रयाकर ग्याजेटह चलिरहेको छ । यस फिटनेस ट्रयाकर ब्याण्डलाई दाजु भाइ या दिदीबहिलाई उपहारको रुपमा दिन सक्नु हुन्छ । यो निकै उपयोगि हुन सक्छ ।

घडी
उपहारको रुपमा दाजुभाइ तथा दिदी बहिनीलाई घडी उपहारको रुपमा दिन सकिन्छ । यसका लागि आफ्नो बजेटअनुसार खरिद गर्न उपयुक्त हुन्छ । बजारका बिभिन्न खालका घडीहरु रहेका हुन्छ । स्मार्टवाच उपयुक्त नलाग्नेहरुलाई एनलग घडीहरु उपहारमा दिन उपयुक्त हुन् ।

मोबाइल
मोबाइललाई उपहारको रुपमा दिन सकिन्छ । बजेटअनुसार तपाईंले आफूले उपहार दिनु पर्ने दिदी बहिनी वा दाजु भाइका लागि उसको आवश्यकतालाई हेरेर मोबाइल गिफ्ट गर्न सक्नुहुन्छ । बजारमा कम मूल्य देखि उच्च मूल्यसम्मका स्मार्ट फोनहरु उपलब्ध रहेका छन् ।

जाडो लक्षित उपहार
तिहार लगत्तै जाडो बढ्न जाने हुँदा त्यसलाई ध्यान दिएर उपहार प्रदान गर्दा पनि उपयुक्त हुन्छ । थर्मस, हट ब्याग, पानी उमाल्ने इलेक्ट्रिक किट्ली, टोष्टर मेसिन आदी उपहारको रुपमा प्रदान गर्न सकिन्छ ।

पुस्तक
तपाईं अध्ययनमा रुची राख्नु हुन्छ र तपाईंले गिफ्ट दिने व्यक्तिले पनि अध्ययनमा रुची राख्छ भने पुस्तकहरु पनि उपहारका रुपमा दिन सक्नुहुन्छ । त्यसका लागि भरखर प्रकाशनमा आएका पुस्तक, विज्ञान प्रविधी, कला सहित्य, जीवनी वा भूगोलसम्बन्धी पुस्तकहरु उपहारमा दिन सकिन्छ ।

पेन्टिङ वा पोस्टर
तिहारमा तपाईंले विभिन्न पेन्टिङ वा पोस्टरहरु पनि उपहारको रुपमा दिन सक्नु हुन्छ । सगरमाथा, लुम्विनी, हिमालहरु मन्दिर, प्राकृतिक मनोरम दृष्यका फोटो, पेन्टिङ्ग वा पोष्टरलाई माउण्ट गरेर उपहार दिन सकिन्छ ।


क्लिकमान्डु