निर्वाचन आयोगलाई बीमा समितिको जवाफ : लघुबीमाको लाइसेन्स प्रक्रिया अघि बढ्दैन



काठमाडौं । निर्वाचन आयोगलाई बीमा समितिले निर्वाचन सम्पन्न नभएसम्म लघु बीमाको लाइसेन्सको प्रक्रिया अघि नबढ्ने स्पष्टीकरण दिएको छ ।

आयेगले गत शुक्रबार बीमा समितिसँग लघुबीमाको लाइेसन्स वितरण गर्ने योजना बनाएको भन्दै आयोगमा उजुरी परेपछि स्पष्टीरकण सोधेको थियो । आयोगलाई स्पष्टीकरण दिँदै बीमा समितिले आज निर्वाचन सम्पन्न नभएसम्म लघुबीमाको लाइसेन्सको प्रक्रिया अघि नबढ्ने स्पष्ट पारेको हो ।

आयोगले समितिलाई निर्वाचन आचारसंहिता लागेको अवस्थामा लघुबीमाको लाइसेन्स वितरण गर्ने सम्बन्धमा कुनै प्रक्रिया अगाडि बढेको छ वा छैन ? स्पष्ट पार्न भनेको थियो ।

बीमा समितिले भदौं १० गते लघुबीमा कम्पनी स्थापना गर्न आवेदन माग गरेको थियो । न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउन भन्दै समितिले लघुबीमा कम्पनी स्थापनाको कार्य अगाडि बढाएको थियो ।

आवेदन दिने अन्तिम दिन असोज १३ मा ३१ वटा कम्पनीको आवेदन परेको थियो ।

जीवन लघु बीमा कम्पनीतर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।

निर्जीवनतर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा रहेका छन् ।

यस्तै, केयर माइक्रो जनरल इन्स्योरेन्स ,स्टार माइक्रो, गण्डकी माइक्रो ,सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्स्प्रेसको आवेदन परेको छ ।

समितिले आव २०७९/८९ को बजेट वक्तव्यमा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी भएको व्यवस्थालाई कार्यन्वयन गर्न बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघुबीमाको स्थापनाको लागि आवेदन माग गरेको थियो ।

प्रस्तावकले पेस गरेका प्रस्तावहरूमध्ये समितिबाट तयार हुने मूल्याङ्कनका आधारहरूमा उच्चतम अङ्क प्राप्त गर्ने जम्मा ७ वटा(३ जीवन र ४ निर्जीवन बीमा) बीमाका प्रस्तावहरूलाई छनोट गर्ने समितिले जनाएको छ ।

समितिले प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रूपैयाँ तोकेको छ ।


क्लिकमान्डु