व्यवसायमा मोटर बीमाको हिस्सा २६%, दुई महिनामा २ अर्ब ३ करोड बीमाशुल्क संकलन



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले भदौसम्ममा मोटर बीमाबाट २ अर्ब ३ करोड ४४ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको भदौसम्ममा मोटर बीमाका २ लाख ५२ हजार ३८५ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको भदौसम्ममा ७ अर्ब ८७ करोड ४२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा २५.८४ प्रतिशत हिस्सा मोटर बीमाले ओगटेको छ ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति, सामुन्द्रिक, हवाई, मोटर, इञ्जिनियरिङ तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली, लघु तथा विविध बीमालेख बिक्रि गर्दै आएका छन् ।

मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमाबाट १ अर्ब ७६ करोड ३१ लाख रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन निर्जीवन बीमा व्यवसायको २२.३९ प्रतिशत हो ।

यस्तै, कुल निर्जीवन बीमा व्यवसायमा इन्जिनियरिङ्ग बीमाले २०.६२ प्रतिशत, विविध बीमाले १३.२६ प्रतिशत, सामुन्द्रिक बीमाले ६.४६ प्रतिशत, कृषि तथा पशुपन्क्षी बीमाले ५.०५ प्रतिशत र हवाई बीमाले २.५३ प्रतिशत हिस्सा ओगटेका छन् ।
कुल निर्जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा १७ प्रतिशत मात्रै छ । यस बीमाबाट बीमा कम्पनीहरूले १ करोड ३७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

भदौसम्ममा बागमती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ । यस प्रदेशबाट कम्पनीहरूले मोटर बीमावापत १ अर्ब ९ करोड ७४ लाख रूपैयाँ बीमाशुल्क संकलन भएको छ ।

लुम्बिनी प्रदेशबाट २७ करोड ० लाख ६७ हजार रूपैयाँ, प्रदेश १ बाट १९ करोड ४ लाख रूपैयाँ, गण्डकी प्रदेशबाट २० करोड ११ लाख ४१ लाख रूपैयाँ, मधेश प्रदेशबाट १५ करोड ७२ लाख ५५ हजार रूपैयाँ र कर्णाली प्रदेशबाट २ करोड ८१ लाख १३ हजार रूपैयाँ बीमाशुल्क सकलन भएको छ ।

यस्तै, सुदुरपश्चिम प्रदेशबाट कम्पनीहरूले मोटर बीमाबाट ७ करोड ७५ लाख ४२ हजार रूपैयाँ संकलन गरेका छन् ।
तथ्यांकअनुसार चालु आवको साउन महिनामा मोटर बीमाका १ लाख २७ हजार १०३ वटा बीमालेख जारी गरी कम्पनीहरूले १ अर्ब २ करोड ७० लाख रूपैयाँ संकलन गरेका थिए ।

साउन महिनामा कम्पनीहरूले कुल ४ अर्ब ४७ करोड ५४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । साउनमा निर्जीवन बीमा कम्पनीहरूले गरेको कुल व्यवसायमा मोटर बीमाको हिस्सा २२.९५ प्रतिशत थियो ।

साउन महिनाको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २३.७२ प्रतिशत, सामुन्द्रिक बीमाको हिस्सा ७.३७ प्रतिशत, मोटर बीमाको हिस्सा २२.९५ प्रतिशत, इञ्जिनियरिङ बीमाको हिस्सा २८.५० प्रतिशत थियो ।

यस्तै, कृषि तथा बाली बीमाले ४.७२ प्र्रतिशत र लघुबीमाले १४ प्रतिशत हिस्सा ओगटेको थियो ।


क्लिकमान्डु