तेस्रो महिना पनि उठेन लक्ष्य अनुसार राजस्व, गत वर्ष भन्दा १८.६५ प्रतिशत कम



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो महिनामा पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल भएको छ । सरकारले यो वर्ष साउन र भदौमा पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन ।

सरकारले चालु आर्थिक वर्षको तीन महिनामा गत वर्ष बराबर पनि राजस्व संकलन गर्न सकेको छैन । महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार यो वर्षको तीन महिनामा गत वर्ष भन्दा १८.६५ प्रतिशत कम राजस्व संकलन भएको छ ।

गत वर्ष असोज मसान्तसम्म सरकारले २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्षभने असोज मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि गत वर्ष भन्दा ४ प्रतिशत बढी राजस्व उठाएको छ । विभागले मूल्य अभिवृद्धि कर गत वर्षभन्दा बढी संकलन गर्दा अन्तशुल्क भने चालु आर्थिक वर्षको लक्ष्य भन्दा १६ प्रतिशत बढी संकलन गर्न सकेको छ । तर, विभागले आयकर भने गत वर्ष बराबर पनि संकलन गर्न सकेको छैन ।

यता भन्सार विभागले भने गत वर्ष बराबर पनि राजस्व संकलन गर्न सकेको छैन । गैरकर पनि गत वर्षभन्दा कम संकलन भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

गत वर्ष पनि सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थियो । सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा १० खर्ब ५९ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्षको ट्रेण्ड हेर्दा गत वर्ष भन्दा २ खर्ब कम राजस्व संकलन हुने अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन् ।
‘अर्थतन्त्रको अवस्था यस्तै रह्यो भने ९ खर्ब राजस्व संकलन गर्न पनि सक्ने अवस्था छैन,’ ति अधिकारीले भने,‘तर, खर्च घटाउने विषय कसैको प्राथमिकतामा छैन ।’


क्लिकमान्डु