मेलम्चीमा योजनाको सम्झौता अनलाइनबाटै हुने



चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइनबाट सम्झौता प्रक्रिया थालनी गरेको छ ।

नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन विधिबाट सुरुआत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए ।

उनका अनुसार २० लाखभन्दा मुनिका योजनाको उपभोक्तामार्फत अनलाइनबाट सम्झौता गरिएको हो । उपभोक्तामार्फत गरिने योजनाको पारदर्शिता कायम गर्न सबै योजना अनलाइनमार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख आइतमान तामाङले बताए ।

सबै वडामा यो प्रक्रिया थालिएको छ । दश लाखभन्दामाथिका योजनामा उपभोक्ताले अनिवार्य प्यान दर्ता गर्नुपर्ने प्रावधानसमेत राखिएको तामाङले बताए । नगरपालिकाले १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम प्रदान गरिसकेको छ ।

कात्तिक मसान्तभित्र सबै योजनाको सम्झौता गरिसक्ने योजना बनाएको नगरपालिकाले असोज मसान्तसम्म ५० प्रतिशत र तिहार अगाडि ९० प्रतिशत योजना सम्झौता गरिसक्ने उपप्रमुख उमा प्रधानको भनाइ छ ।

उनका अनुसार अनलाइनबाट सम्झौता गर्दा पारदर्शी हुने र आवश्यक डकुमेन्ट अनलाइनमा नै क्रेट गर्नेछ । यसले योजनाको रेकर्डिङदेखि अनुगमनको कुरा पनि सजिलो हुने भएकाले नगरपालिकाले त्यो तरिका अपनाएको उनको भनाइ छ ।


क्लिकमान्डु