अन्तर्राष्ट्रिय वित्त निगमसँग सहकार्य गरेर निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार पार्दै महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा निजी क्षेत्रको अवस्थाको मूल्याङ्कन र निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदानको अध्ययन गर्ने भएको छ ।

यो सहकार्यबाट संयुक्त प्रतिवेदनको तयार हुने महासंघले जनाएको छ । प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्याङ्क, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्नेछ ।

यो कार्यले सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको महासंघले जनाएको छ ।

९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसायहरू निजी क्षेत्रको स्वामित्वमा छन्, र यसमा शिक्षा तथा स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूमा गरिएका उल्लेख्य लगानी समावेश छ । त्यसैगरी, पुँजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति रहेको छ– मुलुकभित्र लाखौं जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध रहेका छन् ।

दक्षिण एशियाली मुलुकहरूमध्ये औद्योगिक क्षेत्रमा नेपालको औसत श्रम उत्पादकत्व हालसम्म पनि न्यून रहेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक रहेको बताए ।

बृहत् तथा सुसुचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको रहेको उनको भनाइ छ ।

प्रतिवेदनमा सरकारी तथ्याङ्कको पनि प्रयोग गर्न सकिएमा, यस विषयमा सहयोग पु¥याउन यो प्रतिवेदनको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।

उदयीमान बजारहरूका निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अन्तर्राष्ट्रिय वित्त निगम नेपालमा बजार तथा अवसरहरूको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक रहेको महाासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस. फायेले भने, ‘सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुनेछ ।’


क्लिकमान्डु