बीमा कम्पनीको सेवा सुगम क्षेत्र केन्द्रित, बागमती प्रदेशको हिस्सा ४९.४३ प्रतिशत



काठमाडौंं । बीमा कम्पनीहरूको आफ्नो व्यवसाय बागमती प्रदेशमा बढी केन्द्रित गरेका छन् ।

बीमा समितिले ग्रामिण क्षेत्रमा जान निर्देशन दिए पनि बीमा कम्पनीहरू भने सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका हुन् ।

समितिले सार्वजनिक गरेको तथ्याङक अनुुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ४९.४३ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा मात्रै सिमित भएको छ ।

चालु आवको भदौसम्ममा बागमती प्रदेशबाट बीमा कम्पनीहरूले १६ अर्ब ७६ करोड १५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो कुल बीमाशुल्कको ४९.४३ प्रतिशत हो । चालु आवको भदौसम्ममा जीवन बीमा कम्पनीहरूले २६ अर्ब ३ करोड २७ लाख र निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८७ करोड ४२ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बागमती प्रदेशबाट जीवन बीमा कम्पनीहरूले ११ अर्ब २६ करोड ६६ लाख रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ४९ करोड ४८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बागमती प्रदेशपछि लुम्बिनी प्रदेशबाट ४ अर्ब ३७ करोड ३४ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छन् । यो कुल बीमाशुल्कको १२.९० प्रतिशत हुन आउँछ । लुम्बिनी प्रदेशबाट जीवन बीमा कम्पनीहरूले ३ अर्ब ७२ करोड १४ लाख रूपैयाँ र निर्जीवन बीमा कम्पनीले ६५ करोड २० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।

जीवन बीमा व्यवसायमा लुम्बिनी प्रदेशको हिस्सा १४.३० प्रतिशत र निर्जीवन बीमा व्यवसायको हिस्सा २ प्रतिशत हुन आउँछ ।
यस्तै, लुम्बिनी प्रदेश पछि बीमा व्यवसायमा प्रदेश १ को योगदान बढी छ । प्रदेश नम्बर १ बाट बीमा कम्पनीहरूले ४ अर्ब ७ करोड ४६ लाख रूपैयाँको व्यवसाय गरेका छन् । कुल बीमा व्यवायमा बागमती प्रदेशको हिस्सा १२.०२ प्रतिशत हुन आउँछ ।

यस अवधिमा प्रदेश १ बाट जीवन बीमा कम्पनीहरूले ३ अर्ब ४४ करोड ५ लाख रूपैयाँ र निर्जीवन बीमा कम्पनीले ६३ करोड ४० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा व्यवसायमा मधेश प्रदेशको योगदान ८.५१ प्रतिशत, गण्डकी प्रदेशको योगदान ९.२९ प्रतिशत, सुदुरपश्चिम प्रदेशको योगदान ४.२७ प्रतिशत र कर्णाली प्रदेशको योगदान ३.५९ प्रतिशत छ ।

बीमा कम्पनीहरूले चालु आवको भदौसम्ममा मधेश प्रदेशबाट गण्डकी प्रदेशबाट २ अर्ब ८८ करोड ४३ लाख रूपैयाँ, गण्डकी प्रदेशबाट ३ अर्ब १४ करोड ९१ लाख रूपैयाँ, सुदुरपश्चिम प्रदेशबाट १ अर्ब ४४ करोड ८१ लाख रूपैयाँ र कर्णाली प्रदेशबाट १ अर्ब २१ करोड ५६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।


क्लिकमान्डु