माइक्रोसफ्टले ल्यापटप, ट्याबलेट र कम्प्युटर ल्याउने



एजेन्सी । माइक्रोसफ्टले आफ्नो वार्षिक कार्यक्रम ‘सरफेस’मा ‘प्रो नाइन ट्याबलेट’, ‘ल्यापटप फाइभ’ र ‘स्टुडियो टु प्लस’ कम्प्युटरको घोषणा गरेको छ ।

बिहीबार भएको कार्यक्रममा माइक्रोसफ्टले विभिन्न उपकरणहरुसँगै सफ्टवेयर तथा गेमिङ उपकरणहरु पनि सार्वजनिक गरेको हो । कम्पनीकाअनुसार सबै उपकरण तथा सफ्टवेयरहरु अक्टोबर २५ बाट बजारमा उपलब्ध हुनेछन् ।

कम्पनीले बिहीबार आफ्नो ‘प्रो नाइन’ ट्याबलेटको घोषणा गरेको छ । दुई मोडलमा यी ट्याबलेटहरु बजारमा उपलब्ध हुनेछन् । दुई मध्ये एक मोडलमा १२ औं जेनेरेसनको इन्टेल कोर प्रोसेसर प्रयोग हुनेछ भने अर्कोमा माइक्रोसफ्टको आफ्नै ‘एसक्यु थ्रि’ प्रोसेसर प्रयोग हुनेछ । ८, १६ र ३२ जिबी र्‍यामसहितको मोडलमा उपलब्ध यी ट्याबलेटहरुमा फाइभ जीको विशेषता पनि रहेको छ । यसको मूल्य बजारमा ९ सय ९९ अमेरिकी डलर हुने बताइएको छ ।

सँगै माइक्रोसफ्टले बिहीबार सरफेस ल्यापटप फाइभको पनि घोषणा गरेको छ । १२ औं जेनेरेसनको इन्टेल कोर प्रोसेसर भएको यो ल्यापटपमा १३‍.५ इञ्च र १५ इञ्च डिस्प्लेसहितका दुई मोडल उपलब्ध रहेका छन् ।

यीमध्ये १३.५ इञ्च डिस्प्लेसहितको ल्यापटपमा आइ फाइभ र आइ सेभेन कोर प्रोसेसर रहेको छ भने १५ इञ्चको डिस्प्लेसहितको ल्यापटपमा आइ सेभेन कोर प्रोसेसर रहेको छ ।

बजारमा यसको मूल्य पनि ९ सय ९९ अमेरिकी डलर रहने बताइएको छ । सरफेस फाइभ ल्यापटप ८ जिबी, १६ जिबी र ३२ जिबी र्‍यामसहित उपलब्ध छ । त्यस्तै, बिहीबार घोषणा भएको माइक्रोसफ्टको सरफेस स्टुडियो टु प्लस कम्प्युटर भने पेशागत व्यक्तिलाई ध्यानमा राखेर बनाइएको छ ।

हेवी वर्कलोड भएका कामहरु गर्नुपर्ने पेशागत व्यक्तिहरुलाई ध्यानमा राखेर बनाइएको यो कम्प्इुटरमा २८ इञ्चको टचस्किन डिस्प्ले रहेको छ । ११ औं जेनेरेसनको इन्टेल कोर प्रोसेसर प्रयोग हुने यो कम्प्युटरमा ३२ जिबी र्याम र १ टिबी स्टोरेज रहेको छ ।

बजारमा यसको मूल्य ४ हजार २९९ अमेरिकी डलर रहने बताइएको छ । यी उपकरणबाहेक माइक्रोसफ्टले कस्टमाइजेवल माउस, अडियो डक र एडाप्टिव हवको पनि घोषणा गरेको छ । सँगै कम्पनीले ग्राफिक्स डिजाइनरलाई सहायता पुग्ने गरि ‘डिजाइनर’ नामक एपको पनि घोषणा गरेको छ ।


क्लिकमान्डु