बीमा व्यवसाय करिब २ प्रतिशतले घट्यो, जीवन बीमालेख मात्रै ५९% ले बढ्यो



काठमाडौं । बीमा व्यवसाय करिब २ प्रतिशतले घटेको छ । गत आवको भदौको तुलनामा कुल बीमा व्यवसाय १.८२ प्रतिशतले घटेको हो ।

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १.८२ प्रतिशतले घटेर ३३ अर्ब ९० करोड ६९ लाख रुपैयाँमा झरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको भदौसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । यस अवधिमा जीवन बीमा व्यवसाय ७.४८ प्रतिशतले घटेर २६ अर्ब ३ करोड २७ लाख रूपैयाँमा सीमित भएको छ । गत आवको भदौसम्ममा जीवन बीमा कम्पनीको व्यवसाय २८ अर्ब १३ करोड ६६ लाख रूपैयाँ थियो ।

यस्तै, निर्जीवन बीमा व्यवसाय भने २३.०७ प्रतिशतले बढेर ७ अर्ब ८७ करोड ४२ लाख रूपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब ३९ करोड ८१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

कुल जीवन बीमालेख संख्या ५९.३३ प्रतिशतले बढेर १ करोड ४० लाख १४ हजार ६६ वटा पुगेको छ । गत आवको भदौसम्ममा जीवन बीमालेखको संख्या ८७ लाख ९६ हजार ८ वटा रहेको थियो ।

यस्तै, बैदेशिक रोजगार बीमालेख संख्या ८५.४५ प्रतिशतले बढेर १० लाख ८९ हजार ६५१ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५ लाख ८७ हजार ५६३ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ५.८९ प्रतिशतले घटेर ४ लाख ४५ हजार ३६९ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ७३ हजार २६४ वटा बीमालेख जारी गरेका थिए ।


क्लिकमान्डु