बीमा अभिकर्ता र सर्भेयरले असोज मसान्तसम्म लाइसेन्स नवीकरण गर्नु: बीमा समिति



काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरहरूलाई असोजमसान्तसम्ममा आफ्नो इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

समितिले बुधबार उक्त अवधिसम्ममा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गर्न भनेको छ । अनलाइन माध्यमबाट पनि नवीकरण गर्न सकिने छ ।

समितिकाअनुसार असोज ३१ गते साँझ ५ बजेसम्म अभिकर्ता र सर्भेयरहरूले अनलाइन माध्यममको प्रयोग गरी आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्नेछन् । उक्त अवधिभित्र पनि नवीकरण नभएका इजाजतपत्र भने बीमा ऐन अनुसार स्वतः खारेज हुने समितिले जनाएको छ ।

यस्तै, समितिले सर्भेयरको हकमा इजाजत खारेज भएको ५ वर्षसम्म अर्को इजाजत पत्र दिन नमिल्ने व्यवस्था समेत रहेको जनाएको छ । बीमा अभिकर्ता तथा सर्भेयरहरूको इजाजतपत्र प्रत्येक चैत मसान्तभित्रमा नवीकरण गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

म्यादभित्र कुनै सर्भेयर वा अभिकर्ताहरूले आफ्नो इजाजतपत्र नवीकरणका लागि निवेदन नदिएको खण्डमा कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिना र त्यसपछिको ४ महिनासम्म थप दस्तुर तिरी नवीकरण गर्न सक्ने व्यवस्था छ ।

सर्भेयरहरूको म्याद नाघेको पहिलो २ महिनासम्म ५ सय रूपैयाँ र त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रूपैयाँ थप दस्तु्र तिरी इजाजतपत्र नवीकरण गर्न सकिने छ । उक्त म्यादभित्र कुनै बीमा अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरणका लागि निवेदन नदिएमा नवीकरणको म्याद नाघेको पहिलो २ महिनासम्मको १ सय रूपैयाँ र त्यसपछिका ४ महिनासम्मको लागि प्रति दिन ५ रूपैयाँ थप दस्तुरसहित निवेदन दिनसक्नेछन् ।

असोज मसान्तसम्म अभिकर्ता तथा सर्भेयरहरूको लाइसेन्स नवीकरण गर्न सक्ने व्यवस्था बीमा नियमावली, २०४९ ले व्यवस्था गरेको छ । जसअनुसार २०७९ को लागि नवीकरण गर्न छुटेका बीमा अभिकर्ता तथा सर्भेयरहरूलाई आफ्नो इजाजतपत्र समयमै नवीकरण गराउन समितिले आग्रह गरेको हो ।


क्लिकमान्डु