निर्जीवन बीमा कम्पनीको व्यवसाय २३% ले बढ्यो, शिखर र यूनाइटेड इन्स्योरेन्सको घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८७ करोड ४२ लाख रूपैयाँको व्यवसाय गरेका छन् ।

सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको २ महिनाको अवधिमा उक्त रकम बराबरको व्यवसाय गरेका हुन् । जुन गत आवको भदौको तुलनामा २३.४२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरूले ६ अर्ब ३८ करोड रूपैयाँको कुल व्यवसाय गरेका थिए । गत वर्षको तुलनामा शिखर इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स बाहेक सबै कम्पनीले व्यवसाय बढाएका छन् ।

गत आवको सोही अवधिको तुलनामा शिखर इन्स्योरेन्सको व्यवसाय १.११ प्रतिशतले घटेर ६७ करोड रूपैयाँमा सीमित भएको छ । गत आवमा शिखरले ६८ करोड रूपैयाँको कुल व्यवसाय गरेका थिए ।
यस्तै, यूनाइटेड इन्स्योरेन्सको व्यवसाय गत आवको तुलनामा २२.५७ प्रतिशतले घटेर २० करोडमा खुम्चिएको छ । गत आवको भदौसम्ममा इन्स्योरेन्सले २६ करोड रूपैयाँको कुल व्यवसाय गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीको व्यवसाय २०१.१८ प्रतिशतले बढेर १ अर्ब २० करोड रूपैयाँ पुगेको छ । गत आवको भदौसम्ममा कम्पनीले ४० करोड रूपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेको थियो ।
लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क ४६.३२ प्रशिशतले बढेर ३० करोड रूपैयाँ पुगेको छ । अघिल्लो आवमा इन्स्योरेन्सले २१ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

सबैभन्दा कम बीमाशुल्क बढ्ने कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । प्रिमियरको बीमाशुल्क ०.३३ प्रतिशतले बढेर ४१ करोड रूपैयाँ पुगेको छ । बीमा समितिका अनुसार राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै हो ।

राष्ट्रिय बीमा कम्पनीपछि धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीकमा शिखर परेको छ । शिखर चालु आवको भदौसम्ममा ६७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

यस्तै, शिखर पछि सगरमाथ इन्स्योरेन्सले ५८ करोड, हिमालयन एभरेष्टले ५६ करोड, सिद्धार्थले ५४ करोड र नेको इन्स्योरेन्सले ५३ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु