कब्रा जी समूहको क्वालिटी आयल रिफाइनरीले एकै वर्ष गर्यो साढे ६ अर्बको व्यापार



काठमाडौं । कब्रा जी समूहको क्वालिटी आयल रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ४८ करोड ८४ लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।

कम्पनीका अनुसार सन् २०२२ मा पाम तेलको उच्च व्यापार हुँदा साढे ६ अर्बको आम्दानी भएको हो । कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००४ मा स्थापना भई इडिबल आयलको प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वनस्पती घ्यू, भटमासको तेल, सन्फ्लावर तेल, पामोलिन, पाल्म, तोरीको दाना, ग्राउन्ड नट्स, कनए र अन्य विभिन्न प्रकारका तेलको प्रशोधन गरी बजारमा बिक्री वितरण संलग्न छ ।

दैनिक २५० मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगले अल्पकालीन कर्जाका लागि २ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा केयर रेटिङ नेपालले कम्पनीलाई एफोर रेटिङ दिएको छ ।

तेल उत्पादनका लागि नेपालमा पर्याप्त कच्चा पदार्थ उपलब्ध हुँदैन । त्यसैले कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसियाm इन्डोनेसियालगायतका देशबाट कच्चा पदार्थ आयात गरी तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले नेपाली बनारमा मात्रै नभएर भारतमा पनि निर्यात गर्दै आएको जनाएको छ ।

कम्पनीअनुसार सन् २०२१ मा ८२ प्रतिशत आम्दानी निर्यातबाट गरेको जनाएको छ । घनश्याम कब्रा प्रबन्ध निर्देशक रहेको कम्पनीको सन् २०२१ मा ५२ प्रतिशतले आम्दानी बढेको उल्लेख छ । सन् २०२१ मा भटमास तेलबाट उच्च आम्दानी गरेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, कम्पनीले सन् २०२१ मा ५.३८ प्रतिशतले नाफा कमाएको छ । सन् २०२० मा ३.१० प्रतिशतले नाफा कमाएको थियो ।


क्लिकमान्डु