स्वास्थ्य बीमामा २४ अर्ब बढी भुक्तानी, चालु आवमा मात्रै ३ अर्ब ३३ करोड



काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रम शुरूवात भएको मितिदेखि हालसम्म २४ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी भएको छ ।

गत आवसम्ममा स्वास्थ्य बीमा बोर्डले २१ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । बोर्डले कार्यक्रममा आबद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई चालु आर्थिक वर्षको हालसम्ममा ३ अर्ब ३३ करोड ९३ लाख २० हजार ४३६ रुपैयाँ भुक्तानी गरेको हो ।

चालु आवमा पठाएको रकमसहित हालसम्म बोर्डबाट २४ अर्ब ४४ करोड रुपैयाँ भन्दा धेरै भुक्तानी भएको हो ।

चालु आवमा बोर्डले बोर्डमा आबद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरूलाई पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ भुक्तानी गरेको थियो ।

बोर्डको भदौ २० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गर्ने निर्णय गरेको थियो ।

यस्तै, बोर्डले दोस्रो पटक ६६ करोड १ लाख ५५ हजार ६८ रुपैयाँ भुक्तानी गरेको हो ।

बोर्डको असोज १४ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गर्ने निर्णय गरेको थियो ।

बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रूपमा शुरूवात भएको थियो । हाल यस कार्यक्रम स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ ।

हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् ।

स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका यी सेवा प्रदायक संस्थाहरूले बीमा कार्यक्रममा आबद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् ।

बोर्डकाअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आकस्मिक पेस्की फर्छ्यौट गरिएको हो ।

बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्‍याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा/मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया अवलम्बन गरिन्छ ।

बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरूले कार्यक्रममा बीमित सदस्यहरूलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।

भुक्तानीको लागि प्राप्त दाबीहरू मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकन सहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया पुर्‍याई बैंकिङ प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ र परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्छ । प्रति परिवार(५जनासम्म) ३५ सय रुपैयाँ योगदानको आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रुपैयाँ (१० जनाको परिवार सदस्य) सम्म रहेको छ ।

यस कार्यक्रम हालसम्म देशका ७७ वटै जिल्लामा विस्तार भएको छ । ७४६ वटा स्थानीय तहमा पुगेको यस कार्यक्रममा हालसम्म करिब ६० लाख बीमित सहभागी भएका छन् । कार्यक्रम विस्तार हुन बाँकी रहेका स्थानीय तहमा पनि चाडै सेवा पुर्‍याउने बोर्डको योजना छ ।


क्लिकमान्डु