किन पड्किन्छ स्मार्ट फोनको ब्याट्री, कसरी रोक्ने ?



एजेन्सी । सामसङले आधिकारिक रुपमा विश्वभर बिक्री भएका आफ्ना ‘ग्यालेक्सी नोट सेभेन’लाई फिर्ता लिने बताएको छ । अमेरिकामा ९० भन्दा धेरै फोनहरुमा ब्याट्री तात्ने समस्या अत्याधिक भएपछि यस्तो निर्णय लिइएको हो । खराब ब्याट्री पाइएसँगै धेरै ठाउँमा सामसङको यो फोन पड्किने समस्या भइरहेको थियो ।

कुनै पनि फोन तात्ने समस्या साधारण हो । तर, सामसङको प्रसंगमा भने फोनका प्रयोगकर्ताहरुले दाबी गरेअनुसार उनीहरुको फोन पड्किएको छ ।

फोनको ब्याट्रीका रुपमा प्रयोग हुने ‘लिथियम आयोन ब्याट्री’ विस्फोट हुनु वास्तवमा असामान्य होइन । केही समयअघि अनुसन्धाता एन्जेला चेन र लरेन गुडले उल्लेख गरेअनुसार लिथियम आयन ब्याट्री खतरनाक बन्न सक्ने धेरै कारणहरु हुन्छन् । र यो कारण कुनै स्मार्टफोनमा भएको प्रयोग वा अन्य उपकरणमा भएको प्रयोग मात्रैमा सीमित छैन ।

‘फोन पड्किनु कुनै ठूलो दुर्घटनाजस्तो लाग्छ,’ चेन र गुडले लेखेका छन्, ‘तर, ब्याट्रीले काम गर्न प्रयोग गरिने रसायन र त्यसको विशेषताका कारण यस्ता ब्याट्रीहरुले सजिल्यै विस्फोट हुनसक्ने अवस्था रहन्छ ।’

सामान्यतयः स्मार्टफोनमा प्रयोग भएको ब्याट्री विस्फोट हुने कारण उत्पादनकै समयमा भएको गल्ती हो । लिथियम आयोन ब्याट्री फोनमा प्रयोग भएको बेला त्यसलाई निकै ख्याल गरेर प्रयोग गर्नुपर्ने हुन्छ । यदि उत्पादनको समयमा कुनै गल्ती भएको छ भने ब्याट्री अत्याधिक तात्न सक्छ । बाहिरि तापक्रम, आवश्यकताभन्दा धेरै चार्ज हुनेजस्ता कारणहरुले ब्याट्री तात्छ । जसकारण ब्याट्री विस्फोट हुन सक्छ । उत्पादनको समयमा कमसल सामग्रीको प्रयोग गरिएको छ भने पनि त्यसले सर्ट सक्रिट हुने र ब्याट्री विस्फोट हुन सक्ने अवस्था हुन्छ ।

आधुनिक उपकरणको रुपमा रहेको स्मार्टफोनमा प्रयोग हुने ब्याट्री लिथियम आयोन ब्याट्री हुन्छन् । यस्ता ब्याट्रीहरुमा निकै मिहिन रुपमा आवश्यक पोजेटिभ र नेगेटिभ इलेक्ट्रोड्टहरुलाई व्यवस्थित गरिएको हुन्छ । यीनै इलेक्ट्रोड्टहरुले ब्याट्रीलाई चार्ज गर्न सहायता दिन्छन् । ब्याट्रीको भित्र रहेका उपकरण र रसायनहरु निकै अस्थिर हुन्छन् । साधारणभन्दा साधारण गल्ती भएमा पनि त्यसमा समस्या आउँछ । जसले ब्याट्री विस्फोट हुन सक्छ ।

स्मार्टफोनमा प्रयोग भएका लिथियम आयोन ब्याट्रीहरुमा कुनै पनि समस्या आउने प्रमुख कारण तापक्रम हो । उत्पादनको समयमै गल्ती भएको छैन भने ब्याट्री चार्ज गर्ने बेला, बाहिरि तापक्रमजस्ता विभिन्न कारणले यसमा समस्या आउँछ । फोनको ब्याट्री भित्रको रसायनमा कुनै समस्या हुन साथ यसमा तापक्रम बढ्न थाल्छ ।

कहिलेकाँही आवश्यकताभन्दा धेरै चार्ज गरिरहेमा पनि ब्याट्रीमा समस्या आउन सक्छ र त्यसले अन्ततः तापक्रम बढाउने काम गर्छ । जसकारण नियमित तापक्रममा बृद्धि हुने हो भने ब्याट्रीमा आगो बल्न सक्ने वा विस्फोट हुन सक्ने हुन्छ ।

अर्को कारण भनेको ‘फिजिकल ड्यामेज’ हो । बाहिरि रुपमा फोनको ब्याट्रीमा कुनै पनि किसिमको क्षति भएको छ भने यस्तो अवस्थामा ब्याट्री पड्किन सक्छ ।

यस्तो भइहालेमा तत्कालै ब्याट्रीलाई परिवर्तन गर्नुपर्छ । सँगै फोनमा पानी परेको छ वा पानीसँग प्रत्यक्ष सम्पर्कमा आएको छ भने त्यसले पनि ब्याट्रीमा क्षति पुर्याउन सक्छ ।

यस्तो अवस्थामा पनि ब्याट्री परिवर्तन गर्नु नै राम्रो निर्णय हुन सक्छ । किनकी पानीसँग फोनको लिथियम आयोन ब्याट्री सम्पर्कमा आएमा त्यसले यसभित्रको रसायनिक चक्रमा प्रभाव पार्छ र परिणाम खराब निकाल्न सक्छ ।

रातभर फोनलाई चार्जमा हालेमा पनि फोन पड्किन सक्छ । फोनलाई रातभर चार्जमा छाडिदिने हो भने आवश्यकताभन्दा धेरै चार्ज हुन्छ । जसले फोनको तापक्रम बढाउन सक्छ । अन्ततः परिणाम विस्फोटमा पुग्छ ।

कहिलेकाँही र विरलै रुपमा भने फोनको प्रोसेसरका कारण पनि यस्तो समस्या हुन सक्छ । अत्याधिक ग्राफिक्स प्रयोग हुने गेमहरु खेल्ने, विभिन्न एपहरु चलाउने भएमा त्यसले फोनको प्रोसेसरलाई ‘ओभर हिट’ गर्छ । फलस्वरुपः फोन भित्र रहेको थर्मल पेस्ट पनि कम हुँदै जान्छ । ‘थर्मल लक’ नभएको अवस्थामा पनि फोन पड्किन जान्छ । तर, यो निकै कम मात्रै हुने घट्ना हो ।

फोन विस्फोट हुँदैछ भन्ने कसरी थाहा पाउने ?

फोन विस्फोट हुँदै छ भन्ने निश्चित संकेतहरु हुँदैनन् । फोनमा जब यी संकेतहरु देखिन्छ, ब्याट्रीमा आगो लाग्न थालिसकेको हुन्छ वा विस्फोट हुन लागेको हुन्छ ।

ब्याट्री वा फोनबाट कुनै पनि किसिमको पड्किएको आवाज आउने, प्लास्टिक जलेको गन्ध आउनु यसको संकेत हो । यसले फोनभित्रको ब्याट्री पड्किन वा आगो बल्न लागेको भन्ने थाहा हुन्छ । त्यसबाहेक फोनलाई चार्ज गरिरहँदा यस्ता संकेत देखिएमा र फोन साधारण अवस्थामा भन्दा धेरै तातिएको भएमा त्यो पनि फोनको ब्याट्रीमा समस्या भएको थाहा पाउन सकिन्छ । साधारणभन्दा धेरै फोन तात्न थालेको छ भने त्यसलाई मर्मत गर्ने ठाउँमा लैजान पर्छ ।

यो बाहेक कहिलेकाँही फोनको ब्याट्री असाधारण रुपमा फल्लिएको देखिन्छ । त्यस्तो भएको छ भने यो पनि फोनको ब्याट्री पड्किन सक्ने संकेत हो । यस्तो भएमा ब्याट्रीलाई तत्कालै परिवर्तन गर्नुपर्छ ।

कसरी रोक्ने ?

उत्पादनकै क्रममा समस्या वा गल्ती भएको छ भने यसमा प्रयोगकर्ताले गर्न सक्ने केही छैन ।

तर, उत्पादनको समयमा गल्ती भएको छैन भने केही उपायहरु अपनाउन सकिन्छ । फोनको ब्याट्रीमा प्रत्यक्ष रुपमा असर पर्न दिन हुँदैन । कुनै किसिमको कभर लगाएर मोबाइल कतै खसेमा ब्याट्री भएको भाग प्रत्यक्ष असर नपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।

सँगै फोनको ब्याट्री हेल्थ्यलाई पनि निगरानीमा राख्नुपर्छ । फोनको ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्नुपर्छ । फोन उत्पादन गर्ने कम्पनीले नै भनेको चार्जर प्रयोग गरेमा पनि ब्याट्रीमा आउन सक्ने धेरै समस्याहरु कम हुन्छन् ।

सँगै फोनलाई चार्ज गर्दा पनि निगरानीमा राख्नुपर्छ । रातभर फोन चार्जमा राख्ने, चार्ज गरेर भुल्ने गरेमा यसले फोनको ब्याट्री आवश्यकताभन्दा धेरै चार्ज हुन सक्ने अवस्था आउँछ ।


क्लिकमान्डु