दशैंका लागि काठमाडौं आउन सस्तोमा टिकट, कुन ठाउँबाट आउन कति भाडा ?



काठमाडौं । दशैंको समयमा काठमाडौंबाट बाहिरिने टिकट पाउन गाह्रो मात्रै नभएर यसको मूल्य पनि महंगिएको हुन्छ । तर, यो समयमा काठमाडौं फर्किने वा काठमाडौं आउने टिकट भने सहज रुपमा पाइन्छ ।

धेरै मानिसहरु काठमाडौंबाट बाहिर जाने बेलामा केही भने दशैंका लागि काठमाडौं पनि आउने गर्छन् । उनीहरुका लागि दशैंको समयमा टिकट सस्तो मात्रै नभएर सजिलैसँग पाइन्छ ।

यो दशैंमा विभिन्न एयरलाइन्सहरुले जहाजको टिकट सस्तोमै दिइरहेका छन् । एयरलाइन्स कम्पनीहरुले काठमाडौं फर्किएर आउने जहाज खाली नै आउनु पर्ने भएकाले सस्तोमा टिकट दिइरहेका हुन् । विशेषगरि फूलपाती, अष्टमी र नवमीको दिन काठमाडौं आउने यात्रुहरु निकै कम हुने भएकाले एयरलाइन्स कम्पनीहरुले टिकट निकै सस्तोमा दिएका छन् ।

कुन ठाउँबाट काठमाडौं आउँदा कति छ टिकट ?

फूलपाती (आज) मा बिराटनगरबाट काठमाडौं आउनका लागि ४ हजारदेखि ४५ सय सम्ममा प्रायः एयरलाइन्सका टिकटहरु उपलब्ध छन् । नन रिफन्डेवल रुपमा रहेको यो टिकटको मूल्य सामान्य अवस्थामा भन्दा सस्तो हो । तर, काठमाडौंबाट अहिले विराटनगर जाने हो भने ७ हजारको आसपास टिकटको मूल्य रहेको छ ।

त्यस्तै, अष्टमी र नवमीको दिनमा पनि टिकटको मूल्य यस्तै छ । काठमाडौंबाट विराटनगर जानका लागि ६५ सयदेखि ७ हजारको आसपास टिकटको मूल्य रहेको छ । तर, विराटनगरबाट काठमाडौंको टिकट भने अहिले ४२ सयदेखि ४५ सय रुपैयाँसम्म पाइन्छ ।

काठमाडौंबाट पोखरा जानका लागि फूलपाती (आज)को टिकटको मूल्य ५३ सयदेखि ५८ सयसम्म रहेको छ । तर, पोखराबाट काठमाडौं आउने हो भने यसको टिकट मूल्य ४१ सय रहेको छ ।

अष्टमी र नवमीका लागि काठमाडौंबाट पोखरा जाने टिकट ४७ सयदेखि ५५ हजारसम्मका टिकटहरु छन् । पोखराबाट काठमाडौं आउनका लागि भने आइतबार (आज)को टिकट ४ हजारदेखि ४१ सयसम्म रहेको छ ।

त्यस्तै, फूलपातीमा धनगढीबाट काठमाडौं टिकटको मूल्य ६५ सय मात्रै छ । यो टिकट मूल्य अरु साधारण अवस्थामा भन्दा पनि सस्तो हो । तर, काठमाडौंबाट धनगढी जाने हो भने अहिले टिकटको मूल्य १२ हजार देखि १७ हजारसम्म रहेको छ ।

अष्टमी र नवमीका लागि पनि धनगढीबाट काठमाडौं आउने टिकटको मूल्य ६ हजारदेखि ६५ सयसम्म छ । तर, काठमाडौंबाट धनगढी जाने प्लेनको टिकटको मूल्य भने यसको दोब्बर छ । अष्टमी र नवमीका दिन काठमाडौंबाट धनगढी जानका लागि टिकटको मुल्य ११ हजारदेखि १७ हजारसम्म रहेको छ ।

भद्रपुरबाट काठमाडौंको टिकट मूल्य अष्टमी र नवमीका दिन ५२ सयभन्दा माथि तोकिएको छ । तर, यीनै दिन काठमाडौंबाट भद्रपुर जाने टिकट भने ७ हजार ४ सयभन्दा माथिका मात्रै छन् । त्यस्तै, फूलपाती (आज)कै भद्रपुरबाट काठमाडौं आउने प्लेनको टिकटको मूल्य ५२ सयभन्दा माथि छ भने काठमाडौंबाट भद्रपुर जाने प्लेनको टिकट सस्तोमा ६ हजार ५ सयको रहेको छ ।

भैरहवा जानका लागि फूलपातीको दिनको प्लन टिकट भन्दा ५४ सय ९५ रुपैयाँभन्दा सस्तो छैन् । तर, फर्किनका लागि भने ४ हजारको टिकट पनि रहेको छ ।

अष्टमी र नवमीको दिन पनि काठमाडौंबाट भैरहवा जाने टिकट ५९ सयभन्दा कमको नहुँदा फर्किने टिकटमा भने करिब दुई हजार मूल्य कम छ । अष्टमी र नवमीका दिन भैरहवाबाट काठमाडौं आउने टिकट ४ हजार ९५ रुपैयाँ पनि उपलब्ध छ ।

यी बाहेक अन्य स्थानबाट पनि काठमाडौं फर्किने हो भने प्लेन टिकट दशैंको टिकाको दिनसम्मका टिकटहरु सस्ता छन् । तर, काठमाडौंबाट ती स्थानमा जाने हो भने अहिले टिकटको मूल्य फर्किने धेरै महँगो छ ।

हवाई कम्पनीकाअनुसार काठमाडौं फर्किनै पर्ने जहाजलाई खाली उडाउनुभन्दा सस्तोमा टिकट दिएर केही यात्रु ल्याउनका लागि सस्तोमा टिकट उपलब्ध गराइएको हो । दशैंको समयमा धेरै मानिस काठमाडौं छाडेर जाने र कम आउने हुँदा आउनेलाई हवाई यात्रातर्फ आकर्षिक गर्न गाडी भाडाकै तुलनामा कम गरिएको छ ।


क्लिकमान्डु