कर्मचारी कटौती र लागत घटाउने तयारीमा जुकरबर्ग



एजेन्सी । पटक पटक नोक्सान भोगिरहेको मार्क जुकरबर्गको कम्पनी ‘मेटा(फेसबुक)’ले पहिलो पटक आफ्ना कर्मचारीलाई कम गर्ने तयारी गरिरहेको छ ।

४ फेब्रुअरी २००४ मा स्थापित भएको यो कम्पनीका सिइओ मार्क जुकरबर्गले पहिलो पटक कर्मचारी भर्किलाई रोक्न लागिएको बताएका छन् । उनकाअनुसार कम्पनीमा नयाँ कर्मचारी नथप्ने मात्रै नभएर भएका कर्मचारीहरूका लागि पनि बजेटमा केही कमी गर्ने तयारी भएको छ ।

पछिल्लो समय मेटा नोक्सानसँग जुधिरहेको छ । विश्लेषकहरूका अनुसार २०२३ मा यो थप कम हुन सक्ने देखिएको छ । जुकरबर्गले यो विषयमा चिन्ता राख्दै आफ्ना कर्मचारीहरूलाई साप्ताहिक हुने ‘क्यु एन्ड ए (प्रश्न र उत्तर)’ कार्यक्रममा बजेट कम गर्ने विषयको जानकारी दिएका छन् ।

‘मलाई अहिलेसम्म अर्थव्यवस्था बिस्तारै स्पष्ट रुपमा स्थिर हुन्छ भन्ने लागेको थियो,’ जुकरबर्गले भनेका छन्, ‘तर, हामीले देखिरहेको कुरा ठिक विपरीत छ । त्यसैले हामी यो विकल्प अपनाउन बाध्य छौँ ।’

विश्लेषकहरूले फेसबुकले नयाँ कर्मचारीको ‘हायरिङ फ्रिज’ गर्दा र लागतमा कटौती गर्दा यसले थप असर गर्ने अनुमान गरेका छन् । सँगै यसले जुकरबर्ग र उनको कम्पनीले आफूहरूले गरिरहेको विज्ञापन कमजोर भएको पनि महसुस गरेको देखिने बताएका छन् ।

हाल जुकरबर्गको सम्पत्ति विगतमा भन्दा ठिक आधा भएको छ । कुनै बेला विश्वका शीर्ष तीन धनी व्यक्तिहरूको सूचिमा रहेका उनी अहिले २३ औँ नम्बरमा छन् । सन् २०१४ यता यो उनको सबैभन्दा कमजोर अवस्था भएको देखिएको छ । 

सन् २०२१ मा जुकरबर्गले ‘फेसबुक इन्क’ कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’को सुरुवात गरेका थिए । मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालका माध्यमहरू छन् । विश्व बजारमा जानका लागि नाम परिवर्तन गरिएको कम्पनीले त्यसपछि भने नकारात्मक परिणाम मात्रै भोगिरहेको छ । 


क्लिकमान्डु