भारतमा ‘फाइभ जी’को सुरुवात, ८ वटा शहरमा एयरटेलको सेवा



एजेन्सी । भारतमा ‘फाइभ जी’ मोबाइल सर्भिसको सुरुवात भएको छ । भारतमा शनिबारबाट भइरहेको ‘इण्डियन मोबाइल कंग्रेस’ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रूपमा यसको उद्घाटन गरेका हुन् ।

भारतीय मोबाइल सर्भिस प्रोभाइडर कम्पनी एयरटेलले भारतका विभिन्न ८ शहरमा फाइभ जीको औपचारिक सुरुवात गरेको हो।

शनिबारबाट भारतको दिल्लीमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री मोदीले फाइभ जीको औपचारिक सुरुवात गरेका थिए । दाबीअनुसार हाल विश्वभरका धेरै स्थानमा रहेको ‘फोर जी’ नेटवर्कको तुलनामा ‘फाइभ जी’ १० गुणा छिटो र द्रुत हुनेछ ।

एयरटेलले शनिबारबाट सुरु गरेको ‘फाइभ जी’ भारतका ८ वटा शहरमा उपलब्ध हुनेछ । दिल्ली, मुम्बई, चेन्नाई, कलकत्ता, वाराणसी, बैंगलुरु, हैदराबाद र सिलीगुडीमा फाइभ जीको औपचारिक सुरुवात भएको हो ।

एयरटेलका अध्यक्ष सुनिल मित्तलले बताएअनुसार २०२४ सम्ममा भारतभर नै कम्पनीले फाइभ जीको सेवा विस्तार गर्नेछ ।

यता भारतमा मोबाइल सर्भिस दिने कम्पनीहरूमा अग्रणी रहेको जियोले भने डिसेम्बर २०२३ सम्ममा भारतभर फाइभ जीको सेवा विस्तार गर्ने बताएको छ । कम्पनीले यसअघि आफ्नो साधारण सभामा दिपावलीसम्ममा दिल्ली, कलकत्ता, मुम्बई र चेन्नाईमा फाइभ जी विस्तार गर्ने बताएको थियो ।

शनिबार मुकेश अम्बानीले भनेका छन्, ‘फाइभ जीको सुरुवात हुने भारतको दूरसञ्चारको इतिहासमा कुनै सामान्य घटना होइन । थोरै पछि सुरुवात भएको होस, तर हामी विश्वभरकै गुणस्तरीय र सस्तो फाइभ जी सेवा उपलब्ध गराइरहेका छौँ ।’


क्लिकमान्डु