आयातमा प्रतिबन्ध गरेको मोबाइल २ महिनामा साढे ६ अर्बको आयात



काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती घटेको भन्दै विभिन्न चरणमा आयातलाई कडाइ गर्दै लगेको छ । सरकारले कडाइ गरेको वस्तुमध्ये मोबाइलफोन पनि एक हो । सरकारले विलासिताको वस्तुको आयातमा एलसीदेखि प्रतिबन्धसमेत गरेको छ ।

सरकारले आयातमा कडाइ गर्दै लगेपनि आयातमा भने खासै कमी आउन सकेको छैन । त्यस्तै, सरकारले मोबाइलफोन उच्च आयात भएको भन्दै चरणबद्ध रुपमा कडाइ गर्दै लगेको छ । तर, आयातमा कडाइ गरेको बाबजुद नेपालमा थुप्रै मोबाइलफोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

शुरुवाती चरणमा आयातमा मार्जिनको व्यवस्था गरेको वस्तुमा एलसी नपाउने व्यवस्था गरेको थियो । त्यस्तै, वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आयातमा प्रतिबन्ध गरेको थियो । सरकारले ६०० अमेरिकी डलरभन्दा महँगो मोबाइल फोन आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, असार ३१ गते राजपत्रमा प्रकाशित सूचनामा भने ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयातमा रोक लगाएको थियो । तर, मोबाइल फोनमा कडाइ गरेको सरकारले साउन १ गतेभन्दाअघि खुलेका प्रतितपत्र (एलसी) का आधारमा भने आयात गर्न दिने व्यवस्था गरेको थियो ।

उक्त व्यवस्था लागू गरेको ५ महिना बितिसक्दा पनि आयातमा भने कमी आएको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार प्रतिबन्ध तथा कडाइबीच चालु आर्थिक वर्षको २ महिनाको अवधिमा साढे ६ अर्बको मोबाइल फोन आयात भएको छ ।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा नेपालले ६ अर्ब ६५ करोड २८ लाख २७ हजार रुपैयाँको ९ लाख १ हजार ८४३ सेट मोबाइल फोन आयात गरेको छ । उक्त आयातित मोबाइल फोनबाट सरकारले १ अर्ब २२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले गत वर्षको सोही अवधिमा १० अर्ब ३७ करोड १९ लाख ४३ हजार रुपैयाँको १५ लाख ३ हजार ५३४ मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्दछ । जसमा सो वर्ष सरकारले १ अर्ब ६४ करोड १ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सरकारले आयातमा प्रतिबन्ध गरेपनि मोबाइल फोन आयातमा भने ४० प्रतिशतले मात्रै कमी आएको छ ।

५ वर्षमा साढे १ खर्बको मोबाइल फोन आयात

प्रविधिको उच्च विकाससँगै अहिले मानिसका लागि मोबाइलफोन अत्यावश्यक सामग्री भइसकेको छ । त्यसैले पनि मोबाइलफोनको व्यापार र माग उच्च छ । त्यस्तै, पछिल्लो समयमा मोबाइलफोनको प्रयोगकर्ता बढेसँगै नेपालले पनि विभिन्न प्रकारमा मोबाइल फोन आयात गरिरहेको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी, नेपालले ५ वर्षको अवधिमा १ खर्ब ४० अर्ब ८३ करोड ८२ लाख ३८ हजार रुपैयाँको २ करोड ८२ लाख १३ हजार ३९६ सेट मोबाइल फोन आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्छ । उक्त आयातित मोबाइल फोनबाट ५ वर्षको अवधिमा सरकारले १६ अर्ब २३ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७८÷७९ मा ४१ अर्ब २२ करोड ९ लाख ३१ हजार रुपैयाँको ६० लाख ७० हजार ३५२ सेट मोबाइल फोन आयात भएको थियो । त्यसैगरी, आव २०७७÷७८ मा मा ३७ अर्ब ५७ लाख २६ हजार रुपैयाँको ७० लाख ८१ ह्जार ९८० सेट, आव २०७६/७७ मा १८ अर्ब २८ करोड ७ लाख ३० हजार रुपैयाँको ४३ लाख ९३ हजार ३३६ सेट, आव २०७५/७६ मा १९ अर्ब ३६ करोड ७४ लाख ८० हजार रुपैयाँको ४३ लाख ६५ हजार १२७ सेट र आव २०७४/७५ मा २४ अर्ब ९६ करोड ३३ लाख ६९ हजार रुपैयाँको ६३ लाख २ हजार ६०१ सेट मोबाइल फोन आयात गरेको थियो ।


क्लिकमान्डु