ट्विटरमा पनि टिकटकमा जस्तै भिडियो ‘स्क्रोल’ गर्ने फिचर आउँदै



एजेन्सी । ट्विटरमा पनि अन्य सामाजिक सञ्जालमाजस्तै भिडियो स्क्रोल गर्ने सुविधा आउने भएको छ ।

पछिल्लो समय टिकटकको बर्चश्वलाई टक्कर दिन अन्य सामाजिक सञ्जालले पनि यस्तो विशेषता ल्याइरहेको अवस्थामा ट्विटर पनि यो भिडमा मिसिएको हो ।

बिहीबार कम्पनीले एक ब्लग पोस्टमार्फत् ट्विटरको भिडियो प्लेयरलाई परिवर्तन गरेर ‘स्क्रोल’ गर्ने फिचर ल्याउन लागेको बताएको हो ।

ट्विटरको फिडमा राखिएको भिडियो हेर्न थालेपछि माथि वा तल स्क्रोल गरेर अरु पनि भिडियो हेर्न सकिने सुविधा एपमा हुने उक्त पोस्टमा जनाइएको छ । ट्विटरमा पनि यो फिचर सुरु भएपछि टिकटकमा जस्तै निरन्तर भिडियोहरु हेरिरहन पाइने छ ।

ट्विटरले ‘इम्प्रेसिभ’ अपडेट भनिरहेको यो विशेषताको सुरुवात टिकटकबाट भएको थियो । टिकटकमा एउटा भिडियो हेरेसँगै अरु भिडियो पनि फोनमा तल वा माथि सारेर (स्क्रोल गरेर) हेर्न मिल्छ। अहिले फेसबुक, युट्युब (युट्युब सर्टस), इन्स्टाग्रामजस्ता अन्य सामाजिक सञ्जालका एपमा पनि यो विशेषता छ । ट्विटरले पनि अपनाउन लागेको हो ।

ट्विटरले आफ्नो नयाँ अपडेट बारे दिएको जानकारीकाअनुसार यसमा आउने नयाँ फिचर इन्स्टाग्राम वा युट्युब सर्टसमा भएजस्तो टिकटककै नक्कल नभएर फरक किसिमको हुने अनुमान गरिएको छ । टिकटकले आफ्नो छुट्टै भिडियो ट्याबदेखि धेरै हेरिएका भिडियोहरु पनि रहनेजस्ता सुविधा हुने बताएको छ ।


क्लिकमान्डु