बीमा समिति प्राधिकरण भएपछि स्वायत्त हुन्छः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन आएपछि समिति प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताएका छन् ।

बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारबाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे ।

अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसीरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने जानकारी गराए ।

उनले बीमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बीमाको दावी भुक्तानी र बीमाप्रतिको विश्वास बढ्दै जाने बताएका छन् ।
अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरुको पुँजी बृद्धिको निर्णय गरे अनुरुप बृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएकोे बताए ।


क्लिकमान्डु