इलामका अनुपम पोखरेल बने इसेवाको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनाका विजेता



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छन् ।

उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवामार्फत् भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

यस योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत रू २० हजार नगद जित्न सफल हुनुभएको छ । साथै पोखरेलले बीमा गर्नुभएको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद रू २० हजार प्राप्त गरेको छ । विजेताहरूलाई शुक्रबार एक कार्यक्रमकाबीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरे ।

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक एक हजार रुपैयाँ जित्न सफल भएका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत् साप्ताहिक विजेता चयन गरेको थियो ।

नगद हस्तान्तरण कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी सुभास सापकोटाले भने, ‘ हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सञ्चालन गरेका थियौँ । यसमा आम बिमितहरुको उत्साहजनक सहभागीता रह्यो । यसले हामीलाई थप हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौँ’ ।

यसैगरि कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स्का आइटी प्रमुख शरद चन्द्र प्याकुरेलले भने ‘इसेवाले नेपालको डिजिटल भुक्तानीमा अग्रणी भुमिका खेल्दै आइरहेको छ । पछिल्लो समय इसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइनमार्फत् गर्नका लागि प्रोत्साहन गरिरहेको छ । जसले गर्दा बीमा क्षेत्रमा थप सहजता ल्याइरहेको छ । यसले बीमा गर्ने बीमित, बीमा एजेन्ट देखि हामीजस्ता कम्पनीहरुलाई पनि निकै सजिलो भइरहेको छ ।’

योजना अवधिभर इसेवामार्फत् ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस अवधिमा ६० वटा भन्दा धेरै बीमा शुल्क इसेवामार्फत् भुक्तानी भएका थिए ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एप्समार्फत् सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत् धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्लिकमान्डु