नाडा ईभी अटो शोः कुन ब्राण्डका कारको मूल्य कति ?



काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले पहिलोपटक नेपालमा विद्युतीय गाडी (ईभी अटो) शो आयोजना गरेको छ । आजबाट शुरु भएको शो आगामी ४ दिनसम्म चल्ने नाडाले जनाएको छ ।

नाडा ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ईभी ब्राण्डसहित १६ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन र तीन पाङ्ग्रे सवारी साधनको प्रदर्शनी राखिएको छ ।

ईभी शोमा हुण्डाई, टाटा, बीवाईडी, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिएका छन् । कम्पनीहरूले साधनलाई आकर्षक तरिकाले प्रदर्शनमा राखेका छन् ।

टाटा मोटर्सः टाटा मोटर्सको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ईभी शोमा विद्युतीय सवारी साधन प्रदर्शनमा राखेको छ । कम्पनीले टिगोर र नेक्सन ब्रान्डका चार पाङ्ग्रे कार प्रदर्शनमा राखेको छ । कम्पनीसँग टिगोरका २ प्रकारका कार छन् भने नेक्सनका ५ प्रकारका गाडी उपलब्ध छन् । कम्पनीले टिगोर ब्रान्डको एक्स एम (मिड अप्सन) को मूल्य ३१ लाख ४९ हजार रुपैयाँ तोकेको छ भने एक्स जेड प्लस (फूल अप्सन) को मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

त्यसैगरी, कम्पनीले नेक्सन ब्रान्डका एक्स एमको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ, एक्स जेड प्लसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ, फूल अप्सन विथ सनरुफको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ, एक्स जेट प्लस डार्क इडिसनको ४१ लाख ९९ हजार रुपैयाँ र एक्स जेड प्लस क्सि डार्क इडिसनको मूल्य ४३ लाख ९९ हजारमा उपलब्ध रहेको जनाएको छ ।

सिमेक्स इन्क प्रालिः बीवाइडी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता सिमेक्स इन्क प्रालिले पनि ईभी अटो शोमा सहभागीता जनाएको छ । कम्पनीले न्यू इ६ ब्रान्ड कारको मूल्य ५९ लाख रुपैयाँ, फर्स्ट जेन ई६ को मूल्य ५० लाख रुपैयाँ र एमथ्री (७ सिटर) को ४५ लाख रुपैयाँ ५२ हजार रुपैयाँ तोकेको छ ।

सीजी मोटर्सः नेटा ब्रान्डका विद्युतीय सवारी साधनको आधिकारिक विक्रेता सीजी मोटकर्पले ईभी अटो शोमा ३७ लाख ९९ हजार रुपैयाँ पर्ने कार प्रदर्शनमा राखेको छ । सीजीले नेटा भी सवारी साधनको खरिदमा नि:शुल्क बीमाको व्यवस्था गरेको छ ।

हुन्डाईः नेपालका लागि हुन्डाई ब्रान्डको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना र आइओनिक ५ ब्रान्डको कार प्रदर्शनमा राखेको छ । कम्पनीले कोना ब्रान्डको २ प्रकारका कारमध्ये ईभी जीएलको मूल्य ६० लाख ५६ हजार रुपैयाँ तोकेको छ भने ईभी जीएलएसको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ तोकेको छ । त्यस्तै, आइओनिक ५ को मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ ।

थी–गोः त्यसैगरी, थी–गो कम्पनीले विभिन्न प्रकारका विद्युतीय सवारी साधन ईभी अटो शोमा प्रदर्शनमा राखेको छ । कम्पनीसँग उपलब्ध भएको ज्याक ब्रान्डको कारको मूल्य ७१ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै, कम्पनीले ई६ ब्रान्डको मूल्य ९६ लाख रुपैयाँ र डाँफे ब्रान्डको गाडीको मूल्य ४४ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

आरती इन्टरनेशनलः नेपालका लागि मोडल ब्रान्डका विद्युतीय सवारी साधनको आधिकारिक विक्रेता आरती इन्टरनेशनलले मोडल वाई र मोडल ३ ब्रान्डको सवारी साधन प्रदर्शनमा राखेको छ । कम्पनीले बिक्री गर्दै आएको मोडल वाईको लङ रेन्जको गाडीको शुरुवाती मूल्य २ करोड ४० लाख रुपैयाँ रहेको जनाएको छ ।

त्यसैगरी, मोडल वाई के स्ट्यान्नर्ड रेन्ज प्लसको मूल्य २ करोड १५ लाख रुपैयाँ र मोडल ३ को मूल्य १ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु