पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात रोक्ने बारे अध्ययन गर्न समिति गठन



काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले वार्षिक खर्बौ रूपैयाँको पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्दै त्यस्ता सवारी साधनको आयातमा कसरी रोक लगाउन सकिन्छ भन्नेबारे अध्ययनका लागि समिति गठन गरेको बताए ।

मन्त्रालयले राजस्व सचिवको अध्यक्षतामा समिति गठन गरेको उनले जानकारी दिए । ‘कोईला, डिजेल, पेट्रोलको युग सकियो’ उनले भने ‘अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं । नाडाले अब त्यसमा ध्यान दिनुपर्छ ।’

अहिले विभिन्न देशले पेट्रोलियमबाट चल्ने सवारी साधन नचलाउनेबारे अविध राखेर अध्ययन गरिरहेका छन् । सबैले विद्युतीय सवारी साधन जोड दिँदै आएका छन् । त्यसैले नेपालले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विस्थापन गर्नुपर्ने उल्लेख गरे ।

साथै, नाडाले पहिलो पटक इभी शो गरेर ग्रीन नेपालको अवधारणालाई सहयोग गरेको बताए । अर्थमन्त्री शर्माले नेपालमै उद्योग स्थापना गरी उत्पादन गर्नुपर्ने जिकिर गरे ।


क्लिकमान्डु