व्यतित बीमालेख नवीकरणमा यूनियन लाइफले शतप्रतिशत र प्राइम लाइफले ५०% ब्याज छुट दिने



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज छुट दिने भएका छन् ।

यूनियन लाइफले बीमितहरूलाई व्यतित बीमालेख नवीकरण गर्दा शतप्रशित र प्राइम लाइफले ५० प्रतिशत ब्याज छुट दिने भएका हुन् ।

यूनियन लाइफले कम्पनीबाट जारी भएका बीमालेखहरूको नियमित रूपमा नवीकरण बीमाशुल्क भुक्तानी नगरी दुई वर्ष अघिदेखि व्यतित अवस्थामा रहेका बीमालेखहरूको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा छुट दिने जनाएको छ ।

आवश्यक प्रक्रिया पूरा गरी असोज १३ गतेदेखि असोज ३१ गतेसम्ममा पुनर्जागरण गर्दा लाग्ने बीमाशुल्क ब्याजमा शतप्रतिशत छुट दिईने कम्पनीको भनाइ छ ।

यस्तै, प्राइम लाइफले २०७७ अजोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरूमा २०७९ अजोज ५ गतेदेखि कात्तिक ३० गतेसम्ममा पुनर्जागरण गर्दा लाग्ने ब्याज/जरिवानामा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

ब्याज छुट गर्ने प्रयोजनका लागि २ वर्ष अघिदेखि व्यतित भएका बीमालेखहरूलाई मात्रै समावेश गरिने इन्स्योरेन्सले जानकारी दिएको छ ।

बीमा पोलिसीलाई सक्रिय राख्न नियमित रूपमा पोलिसी नवीकरण गर्नुपर्छ । तोकिएको समयमा नवीकरण नगरेमा बीमालेख व्यतित हुन्छ  । मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि बीमितले आफ्नो बीमालेख नवीकरण गर्न सक्छन् ।

बीमालेख नवीकरणको अथवा बीमाशुल्कको किस्ता भुक्तानी गर्न कम्पनीहरूले ३० दिनको समय दिने गर्छन्  । सो अवधिभित्र पनि नवीकरण नगरेमा ती बीमितको बीमालेख निष्क्रिय हुन्छ ।

सो बीमालेखले बीमितको कुनै पनि जोखिम सुरक्षण नगर्ने बीमकहरू बताउँछन् ।

कम्पनीहरूले व्यतीत बीमालेख पुनर्जागरण गर्न कहिलेकाहीँ ब्याज छुटसहितको अफर ल्याउँछन् । कम्पनीले तोकेको समयमा तोकिएको विलम्ब दस्तुर तिरेर निष्क्रिय भएको पोलिसीलाई पुनर्जागरण सकिन्छ ।


क्लिकमान्डु