सरकारले आयातमा कडाइ गर्दा ६१ प्रतिशतले घट्यो कर्जा प्रवाह, साउनमा मात्रै ७९ अर्ब



काठमाडौं । सरकारले आयातमा कडाइ गरेसँगै यस क्षेत्रमा प्रवाह हुने कर्जा क्रमशः घटेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार आयातमा कडाइ गरेपछि पैठरीका लागि जाने ऋण घटेको देखाउँछ ।

राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घटेको भन्दै आयातमा कडाइ गरेको थियो । राष्ट्र बैंकले पहिलो पटक पुसमा २० मा उच्च आयात हुँदै आएको २० वस्तुमा शतप्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो ।

त्यसपछि, राष्ट्र बैंकले माघमा थप २७ वटा वस्तुको आयातमा मार्जिनको व्यवस्था गरेको थियो । र, नेपालमा मोबाइल पनि उच्च भएकाले मौखिक रुपमा मोबाइल आयातमा पनि राष्ट्र बैंकले कडाइ गरेको थियो ।

राष्ट्र बैंकले आयातमा कडाइ गरेसँगै कर्जामा पनि अप्रत्याशित कमी आएको छ । आयातमा कडाइ गर्नुभन्दा अगाडि बैंक तथा वित्तीय संस्थाबाट मासिक २ खर्ब रुपैयाँभन्दा बढी यस क्षेत्रमा कर्जा प्रवाह हुने गरेको तथ्याङ्कले उल्लेख गर्छ । गत वर्षको साउनमा बैंक तथा वित्तिय संस्थाबाट २ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ, भदौमा २ खर्ब ७ अर्ब १९ करोड रुपैयाँ, असोजमा २ खर्ब १५ अर्ब २५ करोड ४० लाख रुपैयाँ, कात्तिकमा २ खर्ब २२ अर्ब ९३ करोड २० लाख रुपैयाँ र मंसिरमा २ खर्ब २२ अर्ब ५६ करोड रुपैयाँ ट्रस्ट रिसिप्ट कर्जा÷आयात कर्जा प्रवाह भएको थियो ।

तर, राष्ट्र बैंकले आयातमा कडाइ लगत्तै सो क्षेत्रमा जाने ऋणमा पनि प्रभाव परेको देखिन्छ । राष्ट्र बैंकले पुसको ५ गते २० वटा वस्तुको मार्जिनको व्यवस्था गरेको थियो । उक्त व्यवस्था लागू भएसँगै क्रमशः ट्रस्ट रिसिप्ट लोन÷आयात लोन घटेको छ ।

राष्ट्र बैंकअनुसार पुसमा १ खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । त्यस्तै, माघमा १ खर्ब ५३ अर्ब २१ करोड ५० लाख रुपैयाँ, फागुनमा १ खर्ब १९ अर्ब ४८ करोड ३० लाख रुपैयाँ, चैतमा १ खर्ब ३ अर्ब २ करोड ३० लाख रुपैयाँ, वैशाखमा ९७ अर्ब ६३ करोड ६० लाख रुपैयाँ, जेठमा ९५ अर्ब ७ करोड रुपैयाँ र असारमा ७८ अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । साथै, चालु आर्थिक वर्षको साउनमा ७९ अर्ब ४ करोड ७ लाख रुपैयाँ ट्रस्ट रिसिप्ट लोन÷आयात लोन बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको छ ।

त्यस्तै, मार्जिनको व्यवस्थाले पनि अपेक्षाअनुसार आयात घट्न नसकेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । सरकारले गरेको उक्त व्यवस्थाले पनि वैशाखपछि सो क्षेत्रमा प्रवाह हुने कर्जामा उल्लेख्य कमी आएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको साउन महिना सो क्षेत्रमा जाने कर्जामा गत वर्षको तुलनामा ६१ प्रतिशतले कमी आएको छ । गत वर्षको साउनमा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट २ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा यो वर्षको सोही अवधिमा ७९ अर्ब ४ करोड ७० लाख रुपैयाँ प्रवाह भएको छ ।

तर, कर्जा प्रवाहमा कमी आए पनि आयातमा भने उल्लेख्य कमी आउन सकेको छैन । साउनमा गत वर्षको तुलनामा १३ प्रतिशतले कमी आएको छ । गत वर्ष साउन महिनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, चालु आवको सोही अवधिमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

साउन महिनामा कुन बैंकबाट कति कर्जा प्रवाह ?

साउन महिनामा ७९ अर्ब रुपैयाँको कर्जा प्रवाह हुँदा सबैभन्दा बढी नबिल बैंकबाट ट्रस्ट रिसिप्ट लोन/आयात लोन गएको छ । साउन महिनामा मात्रै नबिल बैंकबाट १० अर्ब ६१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यसैगरी, नेपाल बंगलादेश बैंकबाट ४ अर्ब ८५ करोड ६५ लाख राष्ट्रिय वाणिज्य बैंकबाट १ खर्ब ८ करोड ५८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ९ अर्ब ८७ करोड ८१ लाख, स्ट्यान्डर्ड च्याटर्ड बैंकबाट ६ अर्ब ४६ करोड १३ लाख, हिमालयन बैंकबाट ८ अर्ब ५६ करोड २२ लाख, नेपाल एसबीआई बैंकबाट १ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ र एभरेष्ट बैंकबाट ४ अर्ब ५१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै, बैंक अफ काठमाण्डूले १ अर्ब २ करोड ४६ लाख रुपैयाँ, एनसीसी बैंकले १ अर्ब ३६ करोड ४५ लाख, एनआईसी बैंकले ९ करोड रुपैयाँ, माछापुछ्रे बैंकले १ अर्ब ५७ करोड ४५ लाख, कुमारी बैंकले १ अर्ब ७० करोड ५९ लाख, लक्ष्मी बैंकले ३ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ र सिद्धार्थ बैकले ४ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

साथै, कृषि विकास बैंकबाट १० करोड ७ लाख रुपैयाँ, ग्लोबल बैंकबाट ६ अर्ब ५ करोड ६५ लाख, सिटिजन बैंकबाट १ अर्ब २ करोड ६८ लाख, प्राइम बैंकबाट २५ करोड ७५ लाख, सनराइज बैंकबाट १ अर्ब ३१ करोड ६६ लाख, एनएमबि बैंकबाट २ अर्ब ४७ करोड २३ लाख, प्रभु बैंकबाट २ अर्ब ६३ करोड ६४ लाख, मेगा बैंकबाट १ अर्ब ४० करोड ५४ लाख, सिभिल बैंकबाट ३६ करोड २९ लाख, सेन्चुरी बैंकबाट ३० करोड ४३ लाख, सानिमा बैंकबाट २ अर्ब २ करोड र महालक्ष्मी बैंकबाट ११ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।


अरिष्मा मोक्तान