राष्ट्रपतिको कदमविरुद्ध उपराष्ट्रपतिको वक्तव्य: संविधानको दायराभन्दा बाहिर जाने छुट छैन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनेर आवाज उठ्नु दुःखद् भएको उल्लेख गरेका छन् ।

मंगलबार एक वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको वक्तव्यमा उल्लेख गरेका छन् ।

संविधान पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य रहेको र संविधान बमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै सैविधानको पालन र संरक्षण हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

‘संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु’ पुनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

संघीय संसद्‍बाट पास भएर प्रमाणीकरणका लागि पुगेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि उपराष्ट्रपतिको यस्तो धारणा सार्वजनिक भएको हो ।

सत्ता गठबन्धनका दलहरुले पनि राष्ट्रपतिको कदमको बिरोध गरेका छन् ।


क्लिकमान्डु