सुनसरीको बर्जु गाउँपालिकाको एउटै वडामा छन् डेढ सय मिटरब्याज पीडित



विराटनगर । सुनसरीको बर्जु गाउँपालिका १ का ४५ वर्षीय इन्द्रबहादुर गुरुङ यतिखेर सोही जिल्लाको क्षेत्रीय कारागार झुम्कामा छन् । उनी कारागारमा परेको केही दिन भयो । उनलाई रकम लेनदेनसम्बन्धी मुद्दाअन्तर्गत थुनामा राखिएको हो ।

उनलाई सोही गाउँपालिका १ का ५५ वर्षीय झमला (मुरहरिलाल) सरदारले मुद्दा हालेपछि उनी थुनामा परेका हुन् । रकम लेनदेनको विषयमा थुनुवा परेका इन्द्रकी पत्नी रविना टण्डन चौधरी गुरुङले आफूहरू मिटर व्याजीको चङ्गुलमा परेको भन्दै घटनाबारे बेलिबिस्तार सुनाइन् ।

उनका अनुसार, ४ वर्षअघि झमला सरदारसँग ३४ हजार रूपैयाँ ऋण लिएको थियो। सो ऋण वार्षिक सयकडा ३ रूपैयाँ ब्याजदरमा भनेर लिएको हो । एक वर्षको भाकामा ऋण बुझाउन सकिनन् । त्यसपछि अर्कोवर्ष साँवा व्याज गरेर एकमुष्ठ ६० हजार रूपैयाँ बुझाइएको थियो ।

सो रकम बुझाउँदा स्थानीय राजेन्द्र सरदार, राजीव गुरूङ, बसन्त मेहता, चन्द्रे सरदारलगायतका व्यक्तिहरू रोहबर बसेका थिए । तर, त्योबेला रकम बुझाएको भर्पाई दिइएन । पछि दिने भनियो । पछि त उल्टै १ लाख २७ हजार रूपैयाँ अझै तिर्न बाँकी छ भनेर जिल्ला अदालतमा मुद्दा हाले ।

त्यही मुद्दामा गत बुधबार पति इन्द्रबहादुरलाई प्रहरीले पक्राउ गर्यो । इन्द्रकी छोरी लक्ष्मी झमलासँग रकम बुझाएको भर्पाई लिन जाँदा उनीमाथि हातपात भयो । ३४ हजार रूपैयाँ ऋण बुवा बिरामी हुँदा उपचारको लागि आमाले लिएको उनले बताइन् । इन्द्रको घर ऐलानी जग्गामा छन् । उनीहरू दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

यसरी चर्को ऋण असूलीनेमा सोही वडाकी प्रमिलादेवी सरदार पनि परेकी छन् । उनले झमलासँग एक वर्षअघि सिटी रिक्सा किन्न ५० हजार रूपैयाँ ऋण लिएकी थिइन् । उनले ६ महिनामा झमलालाई २ लाख रूपैयाँ बुझाइ सकिन् । उनलाई पनि ऋकको साँवा ब्याज बुझाएको भर्पाई दिएको छैन । भर्पाई माग्न जाँदा झमलाले कुटपिट गरे ।

उनले उपचार गरेको एक्स-रे देखाउँदै भनिन् ‘उसले उपचार खर्च दिनुको साटो ज्यानमार्ने धम्की दिएको छ । हामीले ९ लाख रूपैयाँ तिर्न बाँकी छ भनेर अदालतमा मुद्दा हालेको रहेछ । तारेख धाउनु परेको छ । कुन दिन थुनामा पठाउने हो कुनै टुंगो छैन । खान त पुग्दैन, हामी गरिबले अब ऋण तिर्न कहाँबाट पैसा ल्याउने र कसरी बाँच्ने होला ?’

सोही ठाउँकी उर्मिला सरदारले झमलासँग १ लाख रूपैयाँ ऋण लिइन् । उनले साँवाव्याज गरेर डेढ लाख रूपैयाँ बुझाइ सकिछन् । तर, उनले अझै ४ लाख रूपैयाँ तिर्न बाँकी छ भनियो । सो ऋण तिर्ने अवस्था नभएपछि उनले ४ लाख रूपैयाँ दिनु जग्गा पास गरिदिन्छु भनिन् । झमलाले ८ लाख रूपैयाँको तमसुक बनाएर एक रूपैयाँ पनि दिएनन् । अहिले त्यही ९ लाख रूपैयाँको तमसुक देखाएर उनलाई पनि लेनदेन मुद्दा हाले । उनलाई भुक्याएर झमलाले तमसुक गरेको उनको भनाइ छ ।

अर्की ३५ वर्षीया उर्मिला गुरूङले झमलासँग ६ महिनाअघि ८ लाख रूपैयाँ ऋण लिएकी थिइन् । त्यो ऋण लिँदा उनले १० धुर जग्गा राखेकी थिइन् । त्यो ऋण बढेर ३ महिनामा १९ लाख रूपैयाँ भयो भनिएछ । तर, झमलाले उर्मिलालाई थाहै नदिई सो जग्गा चेतनारायण मेहतालाई पास गरिदिएको र त्यसपछि झमलाले आफ्नो नाममा पास गरे ।

साबो सरदारले एक वर्षअघि झमलासँग १० हजार रूपैयाँ ऋण लिएकी थिइन् । उनले साँवा व्याज गरेर २० हजार रूपैयाँ भाकाभित्रमै चुक्ता गरिसकेकी छन् । तर, उनको नाउँमा अझै ५ लाख रूपैयाँ तिर्न बाँकी छ भनेर तमसुक बनाएको रहेछ । त्योबेला उनलाई पनि रकम बुझाएको भर्पाई दिइएन । उनीविरूद्ध झमलाले जिल्ला अदालतमा लेनदेन मुद्दा हालेको रहेछ । उनले त्यो कुरा भर्खरमात्र थाहा पाइन् ।

सो वडाकी शिवदेवी सरदारले झमलासँग ३० हजार ऋण लिएकी थिइन् । उनले ऋण लिएको डेढ वर्षमा १ लाख ३० हजार रूपैयाँ तिरिसकेकी छन् । सो तिरेको रकमको भर्पाई माग्न जाँदा उनलाई झमला, उनका छोरा सन्दीप र उसकी छोरी सीताले कुटपिट गरी हँसियाले हात काटी दिएको काटिएको हात देखाउँदै शिवादेवीले बताइन् ।

सो गाउँपालिकाका यी त प्रतिनिधिपात्र व्यक्ति र घटनामात्र भएको स्थानीय विनोद गुरूङ बताउँछन् । उनका अनुसार लिएको ऋण तिर्ने व्यक्तिले झमलासँग किन यति धेरै पैसा लिएको भन्दा मिटरब्याज भनेकै यही भन्ने जवाफ फर्काउने गरेका छन् । झमलासँग ऋण लिएर सो ठाउँका डेढ सय जना व्यक्तिहरू पीडित भएका छन् ।

अधिकांश पीडितहरू निरक्षर भएको कारण तमसुकमा के लेखिएको छ भन्ने थाहा पाउँदैनन् । मिटर व्याज आतंकले गाउँबासी निकै नै पीडित छन् । यही कारण कतिपयको गाउँबाटै उठिबास हुने अवस्था रहेको स्थानीय मनोजकुमार चौधरी बताउँछन् ।

यसै सिलसिलामा ९ जना मिटर व्याजपीडितहरूले आइतबार विराटनगरमा सामूहिकरूपमा पत्रकाररहरूसँग आफ्नो दुखेसो राखेका छन् । त्यसरी गुनासो राख्दा पनि उनीहरू त्रसित मुद्रामा देखिन्थे । शुरुमा सबै पीडितहरूले खुलेर आफ्नो समस्या बताउन चाहेनन् । पत्रकारलाई भनेको कुरा कतै झमलाले थाहा पाएर आफूहरूलाई असुरक्षा त आइपर्ने होइन भन्ने उनीहरूमा भय र त्रास मिश्रित भाव झल्किन्थ्यो । सोही क्रममा एक जना महिलाले त भय र त्रासमा रहेको छनक पनि सांकेतिकरूपमा भएपनि खुलासा गरेकी थिइन् ।

ती पीडितहरू गाउँकै विनोद गुरूङ, मनोजकुमार चौधरीलगायका व्यक्तिहरूको सहयोगमा विराटनगर आएका थिए । त्यसक्रममा उनीहरूले प्रेस विज्ञप्ति पनि बाँडेका थिए । सो विज्ञप्तिमा झमलाले आफूहरूलाई झुक्यानमा पारेर औंठाछापा लगाउँदै महिनाको १० प्रतिशत व्याज असुुली गरी घरबारबिहीन बनाएको उल्लेख गरिएको छ ।

ऊसँग लिएको साँवा र ब्याज चुक्ता गरिसक्दा पनि सोको भर्पाई नदिएर उल्टै रकम बढाएको तमसुक बनाई अदालतमा मुद्दा हालेको र मुद्दाकै कारण एक जनाले जेल जानु परेको विज्ञप्तिमा भनिएको छ । मुद्दा फिर्ता गर्छु भनेर थप रकम असूलेर पनि उल्टै मुद्दा यथावत राखेको कारण इन्द्रबहादुरले जेल बस्नु परेको सो विज्ञप्तिमा भनिएको छ ।

झमलाले यसरी स्थानीयसँग नाजायजरूपमा रकम असुल्न थालेको १५ वर्ष भएको स्थानीय मनोजकुमार चौधरी बताउँछन् । ऊ गाउँको जमिनदार हो । उसका अगाडि गाउँलेहरू डर, त्रासका कारण केही बोल्न सक्दैनन् । प्रहरी प्रशासन, अड्डाअदालत, राजनीतिक दल सबैसँग झमलाको पहुँच भएकोले पनि मानिसहरू उसका विरूद्ध बोल्न डराउने गरेको विनोद गुरूङ बताउँछन् ।

‘पीडितहरूलाई सहयोग गरेकोले हामीलाई त त्रास छ, उनले भने कतिपटक छलफल राखेको, छलफलमा झमला आउँदै नआउने, जनप्रतिनिधिहरूले पनि यस विषयमा बेवास्ता गरे,’ यसरी मिटर व्याजीको फन्दामा परेका छन् बर्जु गाउँपालिका १ का बासिन्दाहरू ।

उनीहरूको समस्या सुनिदिने राज्य वा प्रहरी प्रशासन र अड्डाअदालत कोही नभएपछि सञ्चारमाध्यम गुहार्न उनीहरू १० किलोमिटरको दूरी पार गरेर विराटनगर आएका हुन् । आरोपित भनिएका झमलासँग सञ्चारमाध्यमबाट प्रयत्न गर्दा सम्पर्क हुन सकेन ।

बर्जु गाउँपालिकाको जिल्ला सदरमुकाम इनरूवा हो । बर्जुबाट इनरुवाको दूरी करीब २५ किमि उत्तरी क्षेत्रमा पर्दछ । सुनसरी जिल्ला प्रदेश १ अन्तर्गत पर्दछ । यही सुनसरीको सुदूर दक्षिण क्षेत्रमा बर्जु गाउँपालिका छ । यहाँका मानिसलाई जिल्ला सदरमुककाम इनरुवा जानुभन्दा विराटनगर पुग्न सहज पर्दछ । त्यसैले त्यहाँका मानिसको हरेक गतिविधि प्रदेशको राजधानी विराटनगरसँग जोडिएको छ ।


क्लिकमान्डु