अर्थतन्त्र बचाउन प्रत्यक्ष बैदेशिक लगानी र रेमिट्यान्सको ठूलो महत्व छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष बैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्न ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् ।

अर्थमन्त्री शर्माले कोरियामा रहेका गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरे । ‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ’ उनले भने, ‘अहिलेको विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईहरुले सहजीकरण गर्नुपर्यो ।’

द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै उनले कोरियामा रहेका नेपालीहरुलाई मुलुकमा वैदेशिक लगानी र नयाँनयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे ।

कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रकृया अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालनकालागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रकृया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे ।

‘म यहाँका गैर आवासीय नेपालीसाथीहरु तथा गैर आवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाई हामी हातेमालो गरेर अगाडि बढौं’ उनले भने, ‘तपाई हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको सम्मृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईहरुले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईहरुको लगानीको सुरक्षा गर्न हामी तयार छौँ ।’

आइएमई समूहले गैर आवासीय नेपालीहरुसँगको सहकार्यमा लम्जुङ्गमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माणसम्पन्न गरेको बताउँदै उनले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरु धेरै परियोजनाहरु पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैर आवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनाहरुमा काम गर्न सकिने बताए ।

उनले ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्विकृति पर्खिरहेको बताए ।

‘दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक शैद्धान्तिक स्विकृति लिइसकेका छौं । स्थानीय कानुनी परामर्शदाताको माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिकरुपमा अनुरोध गरेका छौँ’ उनले भने ‘अबको केही समयभित्र बैंकको शाखामार्फत सम्पूर्ण बैंकिङ्ग सेवाहरु सञ्चालन हुनेछ ।’

दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरु नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानीका लागि तयार रहेको बताए ।


क्लिकमान्डु