ऊर्जा विकासमा समस्या छन् सबैले समाधान गर्न ठोस पहल गरौंः महानिर्देशक चटौत



काठमाडौं । बिद्युत बिकास बिभागका नवनियुक्त महानिर्देशक चिरन्जीबी चटौतले ऊर्जा बिकासमा समस्या भएको सबैले मनन् गरेको भन्दै अब सबैले समाधानमा ठोस पहल गर्ने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)सँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले नियम कानुनको परिधिभित्र रहेर विभागले समयमै, छिटो, छरितो र चुस्त दुस्त कार्य सम्पादन गर्ने बताए ।

‘विभागको मुख्य काम नै ऊर्जा क्षेत्रमा संलग्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै ऊर्जा क्षेत्रको प्रबद्र्धन गर्नु हो’ उनले भने, ‘ऊर्जा बिकासको गति यो ठाउँसम्म आइपुग्न निजी क्षेत्रको ठूलो योगदान रहेको हँुदा आगामी दिनमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी राख्दिन ।’

भेटमा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले ईप्पान र बिभाग एउटै सिक्काका दुई पाटा भएको बताउँदै आपसी सहकार्य र समन्वयबाट मात्र ऊर्जा क्षेत्रको बिकास र प्रबद्र्धन हुने बताए ।

‘ऊर्जा क्षेत्रमा समस्याको चाङ छन् । यस कार्यालयसँग सम्बन्धित मात्र नभई अन्य सरकारी कार्यालयसँग सम्बन्धित समस्याहरुको सहजीकरणा गर्नमा पनि यहाँको सहकार्य र सहजीकरण हुन्छ भन्ने हामीलाई बिश्वास छ’ उनले भने, ‘यसले समग्र ऊर्जा क्षेत्रको बिकास र प्रबद्र्धनमा ठूलो भूमिका खेल्ने छ ।’

बिभागका काममा ईप्पानको तर्फबाट समेत सम्पूर्ण सहयोग रहने बताउँदै अध्यक्ष आचार्यले उनको कार्यकाल ऊर्जा क्षेत्रको प्रबद्र्धनमा पूर्णरुपले सफल हुनुका साथै ईप्पानलाई स्मरणयोग्य कार्यकाल हुने छ भन्ने बिस्वास ब्यक्त गरे ।


क्लिकमान्डु