जीवन बीमा कम्पनीले स्वीकृत बीमालेख सम्बन्धी वार्षिक विवरण पठाएनन्, ७ दिनभित्र पठाउन निर्देशन



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण नपठाएको जनाएको छ ।

समितिद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा १६ मा बीमा कम्पनीले स्वीकृत बीमालेख सम्बन्धी वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र समितिमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, कम्पनीहरूले हालसम्ममा पनि तोकिए बमोजिमको तथ्यांक उपलब्ध नगराएका हुन् । समितिले ७ दिनभित्रमा सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो ।

हालसम्म कुनै पनि कम्पनीबाट विवरण नआएको समितिद्वारा जारी परिपत्रमा उल्लेख छ । ‘उक्त विवरण हालसम्म पनि पेस नभएको हुँदा समितिको गम्भीर ध्यानकर्षण भएको जानकारी गराउँदै पत्र प्राप्त भएको ७ दिनभित्र विवरण पेस गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ’ समितिको निर्देशनमा उल्लेख छ ।

समितिद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को दफा १६ मा स्वीकृत बीमालेख सम्बन्धी वार्षिक विवरण पेस गर्नुपर्ने उल्लेख छ । उक्त निर्देशिकाको अनुसूची ८ मा विवरण पठाउनु पर्ने ढाँचा समेतको व्यवस्था गरिएको छ ।

उक्त अनुसूचीमा बीमा कम्पनीको नाम, आर्थिक वर्ष, बीमालेखको ना, टेक्निकल नाम, बजार नाम, बीमलेख स्वीकृत मिति, शिर्षक, विवरण, रकम लगायतका विवरण समावेश गर्नुपर्ने उल्लेख छ ।

यस्तै, बीमाशुल्कअन्तर्गत बीमा कम्पनीहरूले खुद र कुल दुवै खुलाउनु पर्ने व्यवस्था निर्देशकाले गरिदिएको छ ।

विवरणमा दाबी भुक्तानी, भुक्तानी भएको संख्या र रकम समेत उल्लेख गर्नुपर्ने छ । साथै, भुक्तानी हुन बाँकी दाबी संख्या र रकम पनि उल्लेख गर्नुपर्ने छ ।

यस्तै, स्वीकृत बीमालेखको वार्षिक विवरण पठाउँदा खर्च, कमिशन, व्यवस्थान र बीमालेखको संख्यासमेत उल्लेख गर्नुपर्ने समितिद्वारा जारी उक्त निर्देशिकाको अनुसूचीमा उल्लेख छ ।


क्लिकमान्डु