कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा



काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी दिए ।

‘सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी आएको छ,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने।

गत साता बसेको मन्त्रिपरिषदले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको उनको भनाइ छ ।

कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको वर्षदिन नाघेको छ ।

कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए । २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरूले संयुक्त हस्ताक्षर गर्दै सरकारले आफ्नो प्रतिवद्धताअनुसार दायित्व बहन नगरेको भन्दै भुक्तानी रोकेका थिए ।

बीमा कम्पनीहरूले भुक्तानी रोकेको ५ महिनापछि सरकारले बल्ल छलफल चलाएको थियो । छलफलमा अर्थमन्त्री जर्नादन शर्माले कसरी भुक्तानी गर्न सकिन्छ भनेर बीमा समितिसँग विकल्पसहितका सुझाव माग गरेका थिए ।

बीमा समितिको तथ्यांक तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका छन् । बराबर बीमालेख जारी गरी कम्पनीहरूले १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

१ लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ । सो संख्या बराबर बीमा कम्पनीमा करीब १६ अर्ब रूपैयाँको दाबी परेको छ । १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको हो ।

कुल दाबीमध्ये हालसम्म ५१ हजार ६६९ वटा बीमा दावीवापत कम्पनीहरूले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार रूपैयाँ बराबरको भुक्तानी गरेका छन् । कोरोना बीमावापत अझै १० अर्ब ८४ करोड ६ लाख ८३ हजार रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । १ लाख १३ हजार ३९० वटा दाबी वापत सो रकम भुुक्तानी गर्न बाँकी रहेको हो ।

कोरोना बीमा मापदण्डमा कोरोना बीमाको दाबी भुक्तानी १ अर्ब रूपैयाँसम्म बीमकले र १ अर्ब रूपैयाँदेखि २ अर्ब रूपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ ।

साथै, २ अर्ब रूपैयाँदेखि २ अर्ब ५० करोड रूपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत र २ अर्ब ५० करोड रूपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रूपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ ।

मापदण्डअनुसार बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीले दायित्व बहन गरिसकेका छन् ।


क्लिकमान्डु