धितोपत्र बजार सञ्चालन नियमावली: नयाँ स्टकले ३०% आईपीओ ल्याउनु पर्ने, विदेशीले लगानी गर्न पाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९’ जारी गरेको छ ।

संशोधित नियमावलीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन सम्बन्धी व्यवस्थाहरु थप गरेको छ । थप व्यवस्थामा नयाँ स्टकको चुक्ता पुँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बजारले कारोबार सञ्चालन गरेको २ वर्षभित्रमा आफ्नो जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने छ ।

विनियमावलीमा सञ्चालनमा रहेको धितोपत्र बजारलाई यो व्यवस्था लागू नहुने उल्लेख छ । हाल नेपालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मात्रै सञ्चालनमा रहेको छ ।

नयाँ स्टकमा कानुन बमोजिम स्थापना भएका प्राइभेट कम्पनी वा संगठीत संस्थाले संस्थापक सेयर किन्न पाउनेछन् । कुनै एक कम्पनी वा त्यस कम्पनीको सञ्चालक वा सेयरधनी र निजका नजिकका नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पुँजीको १५ प्रतिशत भन्दा बढी सेयर ग्रहण गर्न पाउने छैनन् ।

नेपाल बाहेक अन्य मुलुकमा धितोपत्र बजार संचालन गरिरहेको कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको स्वामित्व ग्रहण गर्ने भएमा सम्वन्धित मुलुकको नियमनकारी निकायबाट धितोपत्र वजार सञ्चालन गर्ने अनुमति प्राप्त गरी विगत दश वर्ष देखि धितोपत्र वजार सञ्चालन गरिरहेको तथा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारले स्वीकृती दिएको हुनु पर्नेछ ।


क्लिकमान्डु