नेपालमा आइफोन १४ आउने अनिश्चित, कति पर्ला नेपालमा मूल्य ?



काठमाडौं । गत बुधबार एप्पलले नयाँ आइफोन सार्वजनिक गरेतापनि नेपालमा त्यसको उपलब्धता हुने भने अनिश्चित रहेको छ । गत बुधबार ‘फार आउट’ कार्यक्रममार्फत् कम्पनीले सार्वजनिक गरेको १४औं जेनेरेसनका चार आइफोनहरु नेपालमा कहिले उपलब्ध हुन्छन् भन्ने अनिश्चित भएको हो ।

नेपालमा एप्पलका उत्पादनहरुको बिक्री वितरण गर्ने ओलिज स्टोरका सेल्स रिप्रिजेन्टेटिभ संगम लिम्बुकाअनुसार नेपालमा सरकारले फोनको आयातमा प्रतिबन्ध लगाएका कारण तत्कालै नेपालमा आइफोन आउने सम्भावना नरहेको बताए । राईले भने, ‘फोन आयात गर्नका लागि सरकारले कहिले खुल्ला गर्छ भन्ने हो । खुल्ला नहुँदा सम्म हामीले प्रि अर्डर पनि खुल्ला गरेका छैनौं ।’

सरकारले बैशाख १३ मा ६०० डलरभन्दा बढि मूल्यका फोनहरु आयात गर्न प्रतिबन्ध लगाएको थियो । त्यसको केही समयपछि ३ सय डलरभन्दा बढि मूल्यका सामग्रीको आयातमा प्रतिबन्धलाई निरन्तरता दिने सरकारको निर्णय थियो । उक्त कारणले नेपालमा नयाँ आइफोन तत्कालै उपलब्ध हुने सम्भावना नरहेको राईले बताए ।

नेपालमा आयात हुने आइफोन १४ को मूल्य मूल्य भने आइफोन १३ प्रो म्याक्सकै आसपास हुनेछ । राईकाअनुसार मूल्यमा दुई चार हजारको मात्रै अन्तर हुनसक्छ । उनले भने, ‘आइफोन १४ को मूल्य आइफोन १३ कै वरपर हुन्छ । आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सको मूल्य भने केही बढि हुन्छ ।’

नेपालमा आयात हुने फोनहरुमध्ये आइफोन १४ र आइफोन १४ प्लसमा इसिम हुने व्यवस्था कम्पनीले गरेको छ । नेपालमा पनि सोही किसिमको फोन आउने राईले बताए । उनले भने, ‘आइफोन १४ र आइफोन १४ प्लस इ–सिमसहितको हुनेछ । आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्समा भने एउटा फिजिकल सिम र अर्को इ सिम हुनेछ ।’


क्लिकमान्डु