ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि असोजमा आवेदन माग्ने बोर्डको तयारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली यथाशिघ्र कार्यान्वयमा लैजाने बताएका छन् ।

मन्त्रिपरिषदले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ र धितोपत्र बजार संचालन नियमावली-२०६४ लाई संशोधन सहित स्वीकृत गरेको छ ।

उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ स्टक खोल्नका लागि, नयाँ ब्रोकर खोल्नका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ)मा आरक्षण दिने व्यवस्था कार्यान्वयन गर्न बाटो खुलेको छ ।

बोर्ड अध्यक्ष हमालका अनुसार उक्त नियमावली यथाशिघ्र कार्यान्वयमा आउने छन् । त्यसका लागि आइतबारबाट नै आवश्यक कार्य शुरु हुने उनको भनाइ छ ।

मन्त्रिपरिषदले उक्त नियमावली पास गरेसँगै नयाँ ब्रोकर खोल्नका लागि बाटो खुलेको छ । त्यसको लागि यथाशिघ्र नियमावलीमा भएको मापदण्ड अनुसार दशैंअघि नै आवेदन खुला हुने भएको छ ।

यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीले पनि अब केही समयमा नै आरक्षण स्वरुप आईपीओमा आवेदन दिन पाउने भएका छन् ।

निश्चित मापदण्डका आधारमा विदेशमा रहेर बैंकिङ प्रणालीबाट विप्रेषण पठाउने नागरिकले आरक्षणमा पाउने आइपीओमा आवेदन दिन पाउने छन् । त्यसका लागि बोर्डले मापदण्ड तय गर्ने छ । यसले नेपालमा विप्रेषण बढ्ने बोर्ड अध्यक्ष हमालको भनाइ छ । यसका लागि आवश्यक काम आइतबारबाट नै हुनेछ ।

मन्त्रिपरिषदले स्वीकृत गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ तत्काल कार्यान्वयनमा जाने उनको तर्क छ । यस्तै मन्त्रिपरिषदले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली २०६४ संसोधन पारित गरेसँगै ब्रोकरको संख्या थपिने भएको छ ।

नयाँ ब्रोकर थप्नका लागि आवश्यक काम बोर्डले यथाशिघ्र शुरु गर्ने हमालको भनाइ छ । स्रोतका अनुसार असोजमा नै नयाँ ब्रोकरका लागि आवेदन माग गर्ने सम्भावना रहेको छ ।

मन्त्रिपरिषदले संसोधन गरेको नियमावली अनुसार ब्रोकर कम्पनीको चुक्ता पुँजी १५ करोड, ५० करोड र १ अर्ब रुपैयाँ रहेको छ।

ब्रोकरको काम गर्नका लागि न्यूनतम १५ करोड, डिपी सेवा दिन र मार्जिन कारोबार सञ्चालन गर्न न्यूनतम ५० करोड र धितोपत्र व्यापारीको काम गर्नका लागि न्यूनतम १ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ । बोर्डले स्वीकृत नयाँ व्यवस्था अनुसार नै ब्रोकरका लागि आवेदन खुला गर्ने भएको छ ।

मन्त्रिरिषदले स्वीकृत गरेको नियमावलीमा ब्रोकर खोल्न चाहने कम्पनीले आर्थिक वर्षको पहिलो महिनाभित्र स्टक एक्सचेञ्जमा आवेदन दिनुपर्ने छ । तोकिएको मापदण्ड पुरा गरेका कम्पनीले नयाँ ब्रोकर खोल्न अनुमति पाउनेछन् ।

यस्तै मन्त्रिपरिषदले धितोपत्र बजार सञ्चालन विनियमावली-२०६४ स्वीकृत गरेसँगै नयाँ स्टक खोल्नका लागि बाटो खुलेको छ । ब्रोकरको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने छ । अब खुल्ने स्टकमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्राइभेट कम्पनी, पब्लिक कमनपीले १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।

स्रोतका अनुसार असोज भित्रै धितोपत्र बोर्डले नयाँ स्टकको लाईसेन्स दिन आवेदन माग गर्ने छ । बोर्ड अध्यक्ष हमालको कार्याकाल पनि करिब डेढ वर्षको हाराहारिमा रहेका कारण तीनवटै नियमावली कार्यान्वयनमा तत्काल जोड दिने प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु