एशियन लाइफले बोलायो साधारणसभा, १५.२६ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले असोज १३ गते १४औं वार्षिक साधारणसभा बोलाएको हो ।
इन्स्योरेन्सको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति चयन गरेको हो । सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११:३० बजेदेखि शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले १५.२६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार २६ रूपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा हाल कायम रहेको २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रूपैयाँको १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रूपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
यस्तै, इन्स्योरेन्सले नगद लाभांश (कर प्रयोजनको लागि) चुक्ता पुँजीको ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९.५१ रूपैयाँ वितरण गर्ने प्रस्ताव गरेको थियो ।
सभाले कम्पनीको हाल कायम पुँजी संरचना संस्थापक र सर्वसाधारण सेयरको ६०:४० अनुपातलाई बीमा समितिको स्वीकृतपश्चात परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
लेखापरीक्षको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात/नोक्सान, हिसाव, सोही अवधिको नगद प्रवाह र सो सम्बन्धी संलग्न अनुसूचिहरू माथि छलफल तथा पारित गर्ने सामान्य प्रस्ताव समेत सभाले पारित गर्ने छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
साधारणसभा प्रयोजनको लागि इन्स्योरेन्सले असोज ४ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।