सन्दीपमाथि बलात्कार आरोपबारे प्रहरी भन्छ: सूक्ष्म अनुसन्धान भइरहेको छ




काठमाडौं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार विज्ञप्ति जारी गर्दै प्रहरी वृत्त गौशालामा सन्दीमाथि जबरजस्ती करणीको जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

जाहेरीमा १७ वर्षीया बालिकामाथि भदौ ५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर करणी भएको उल्लेख गरिएको छ । सोही राति ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगर ९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा लगि १२ बजेर २५ मिनेटमा पटक पटक करणी गरेको उल्लेख गरिएको छ ।

भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी परेको थियो ।

पीडित भनिएकी १७ वर्षीय किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न किसिमका प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सूक्ष्म रूपमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच राष्ट्रिय टिमका कप्तान लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन बारे छलफल गर्ने भएको छ ।

लामिछाने मैत्रीपूर्ण टी-२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए । टी-२० शृङ्खलामा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी त्यसपछि क्यारिबीअन लीग खेल्नका लागि जमैका पुगेका छन् । केन्या विरुद्ध टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ ।


क्लिकमान्डु