एक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ४ अर्बमाथि, कसको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ लाख २१ हजार ६२४ वटा बीमालेख जारी गरी ४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

चालु आवको पहिलो महिना अर्थात् साउन महिनामा सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४७ करोड ५४ लाख ८७ हजार रूपैयाँ कुुल बीमाशुल्क संकलन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्दि«क बीमा, मोटर बीमा, इञ्जिनियरिङ तथा सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

साउन महिनामा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले धेरै बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ । साउन महिनामा कम्पनीले ८४ करोड २८ लाख ३१ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कुल व्यवसायको १८.८३ प्रतिशत हो । यस अवधिमा कम्पनीले ३ हजार ११२ वटा बीमालेख जारी गरी सो रकम संकलन गरेको हो ।

शिखर इन्स्योरेन्सले साउन महिनामा २० हजार ९१७ वटा बीमालेख जारी गरी ३५ करोड ५२ लाख ४१ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

शिखरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले अन्य कम्पनीको तुलनामा बढी बीमाशुल्क संकलन गरेको छ । साउन महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३३ करोड १९ लाख रूपैयाँ कुल बीमाशुल्क गरेको छ ।

समितिका तथ्यांअनुसार यस अवधिमा सगरमाथा इन्स्योरेन्सले ३२ करोड ६२ लाख रूपैयाँ, नेको इन्स्योरेन्सले २७ करोड १० लाख रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख रूपैयाँ, एनएलजी इन्स्योरेन्सले २३ करोड ४ लाख रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले २१ करोड २५ लाख रूपैयाँ संकलन गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्सले १५ करोड ६७ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले १६ करोड १४ लाख रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १० करोड ४० लाख रूपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब २८ करोड ९० लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १६ करोड ६४ लाख रूपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ६९ लाख रूपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १९ करोड ५८ लाख रूपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सले १३ करोड ६५ रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु