वैदेशिक रोजगार बीमाबाट साढे २४ करोड संकलन



काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट साढे २४ करोड रूपैयाँ संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा कम्पनीहरूले २४ करोड ५४ लाख ८५ हजार रूपैयाँ संकलन गरेका हुन् ।

समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार १ महिनाको अवधिमा कम्पनीहरूमा ५९ लाख ६१२ वटा म्यादी बीमालेख जारी भएका छन् ।

गत आवको साउन महिनामा कम्पनीहरूले ९ करोड रूपैयाँ संकलन गरेका थिए । गत आवको साउन महिनामा कम्पनीहरूमा १९ लाख ७२६ वटा बीमलेख जारी भएका थिए ।

बीमा समितिको तथ्यांक अनुसार वैदेशिक रोजगार बीमाबाट सन नेपाल लाइफले सबैभन्दा बढी १३ करोड ४ लाख ८३ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले ४ करोड ९४ लाख ७८ हजार रूपैयाँ, सूर्या लाइफले ४ करोड ४१ लाख ३५ हजार रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले १ करोड ४४ लाख ९९ हजार रूपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६८ लाख ९० हजार रूपैयाँ संकलन गरेका छन् ।

समितिको तथ्यांकअनुसार सूर्या लाइफमा ११ हजार १५०, सन नेपाल लाइफमा ३१ अहजार ६२९ वटा, रिलायबल नेपाल लाइफमा १ हजार ५७१ वटा, ज्योति लाइफमा ११ हजार ७९८ र सिटिजन लाइफमा ३ हजार ४६४ वटा बीमालेख जारी भएका छन् ।

बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो ।

सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमतिअनुसार पुल प्रणालीमार्फ्त बीमालेख जारी हुँदै आएको छ ।

बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका छन् ।

तर, बीमा समितिले यहि साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । जो नेपाली रोजगारीका सिलसिलामा विदेश जान्छन्, ती सबैले वैदेशिक रोजगार म्यादी बीमा गर्नैपर्छ ।

कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरूको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु