राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको सहकार्यमा सिन्के धुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा प्रवर्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका थिए ।

आविष्कार केन्द्रलाई आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ । सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थिति थियो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताए ।
उनले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमासमेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताए ।

मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै शुरु गर्दा स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे । उनले उत्पादन बढाउने उद्योगहरु स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रुपान्तरण हुने बताए ।

मन्त्री बडूले नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको बताए ।
उनले सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना गरेका भन्दै त्यसले उद्यम र उद्यमीहरुको सख्या बढाउने बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताए ।उनले देशको अर्थतन्त्र बढ्न उद्यमीहरुले बढाएर उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरु बढाउने भएको उनले बताए ।

लघु घरेलु तथा साना उद्योग उद्योग प्रवर्धन केन्द्रसँग भएको सम्झौताअनुसार ४० लाख रुपैयाँको सिन्के धुप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना बताए ।

उनले सन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने बताए । सम्झौताअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म सबै काम सक्ने उनले बताए ।

समझदारीअनुसार आविष्कार केन्द्रलाई चालु आर्थिक वर्षमा अनुदानस्वरुप ४० लाख रुपैयाँ सरकारले उपलव्ध गराउने छ ।


क्लिकमान्डु