तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान हुँदैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शैक्षिक विकासको लागि सरकार सदैव प्रतिवद्ध रहेको बताए ।

उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खालि रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

क्याम्पसमा अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको भनाइ थियो । उनले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हट्तालले विश्वविद्यालयका समस्या समाधान नहुने उल्लेख गरे ।

तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान नहुँने भन्दै उनले राजनीति आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी रहेको देउवाको भनाइ थियो ।


क्लिकमान्डु