नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई शोधवृत्ति प्रदान गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई शोधवृत्ति प्रदान गर्ने भएको छ ।
कम्पनीले स्नातकोत्तर तहका लागि १ लाख रूपैयाँ, एमफिलका लागि २ लाख रूपैयाँ र विद्यावारिधिका लागि ४ लाख रूपैयाँ गरी कुल ७ लाख रूपैयाँ शोधवृत्ति रकम प्रदान गर्ने भएको हो ।
पुनर्बीमा तथा बीमा क्षेत्रका विभिन्न विषय तथा जोखिम समुहहरूको पहिचान, विश्लेषण, मापन, अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने विषयलाई पुरा गर्ने गरी नेपाल पुनर्बीमा कम्पनीले शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८ जारी गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालको जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवर्दन गर्न र बीमा सम्बन्धमा प्रमाणमा आधारित नीति निर्माणमा उपयोगि हुने ज्ञानको विस्तारको लागि शोधवृत्ति रकम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।
इच्छुक योग्य विद्यार्थी/शोधार्थीलाई कार्तिक ३० गतेभित्र कम्पनीको इमेलमा आवेदन र आवश्यक कागजपत्र पेस गर्न कम्पनीले आह्वान गरेको छ ।