२ वर्षमै हरेक पसलमा अनिवार्य बन्यो क्युआर, ३०० प्रतिशतले वृद्धि




काठमाडौं । पेप्सिकोला पसल गर्ने रमेश बस्नेतले केही दिनअघि आफ्नो पसलमा क्युआर स्क्यानर राखेका छन् ।

लामो समयदेखि किराना पसल गर्दै आएका बस्नेतलाई अहिले आएर क्युआरबाट कारोबार नगरिनहुने बाध्यता नै आएको छ ।
‘जो आए पनि क्युआर छैन भन्दै सोध्छन्,’ बस्नेतले भने, ‘एउटा चुरोट किन्नेले पनि क्युआर खोज्न थाले ।’

सानो सानो रकममा पनि क्युआरबाट पैसा तिर्न खोजेपछि बस्नेत आफूले चलाइरहेको बैंकको क्युआर राखेका छन् । क्युआर राखेपछि यसबाट पैसा तिर्नेहरु आउन थालेका छन् ।

बस्नेतमात्र होइन, आजभोलि ‘क्युआर पेमेन्ट’ हरेक पसलको लागि अनिवार्य जस्तै भएको छ । डिजिटल भुक्तानी गर्ने व्यक्तिहरु तीव्ररुपमा बढ्दै जाँदा व्यवसाय गर्नेहरुलाई क्युआर स्क्यानर राख्न बाध्य भइरहेका छन् ।

डिपार्टमेन्ट स्टोरदेखि ठूलो कारोबार गर्ने व्यवसायमा सबैजसोमा क्युआर प्रयोग भइरहेको अवस्थामा ससाना पसलमा पनि यो विस्तार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले पनि यो कुरालाई पुष्टि गर्छ । मोबाइल बैंकिङ प्रयोगकर्ता ह्वात्तै बढेका छन् भने क्युआर कारोबार पनि उल्लेख्य वृद्धि भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता ६१.९१ प्रतिशतले वृद्धि भएका छन् ।

गत आर्थिक वर्ष २०७८/२०७९ मोबाइल बैंकिङ ग्राहक १ करोड ८३ लाख ७ हजार २ सय ५५ पुगेका छन् । यो आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६१.९१ प्रतिशत धेरै हो । उक्त वर्ष मोबाइल बैंकिङका ग्राहक १ करोड १३ लाख ६ हजार ७९७ थिए ।
उक्त संख्या आर्थिक वर्ष २०७७/७८ मा २५.५४ प्रतिशतले वृद्धि भएको थियो । उक्त वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ४१ लाख ९४ हजार ८३९ पुगेका थिए ।

पछिल्लो दुई वर्षमा क्युआरमा आधारित भुक्तानी पनि उल्लेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा क्युआरमा आधारित भुक्तानी १४ अर्ब ५२ करोड ६० लाख रुपैयाँ बराबरको भएको छ । जुन अघिल्लो वर्षको तुलनामा २९७.८६ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी भउको थियो ।


क्लिकमान्डु