चितवनमा जग्गाको मूल्य २८ लाखसम्म बढ्यो, कठ्ठाकै ३ करोड ८ लाखसम्म



काठमाडौं । चितवन जिल्लामा रहेका मालपोत कार्यालयहरूले चालु आर्थिक वर्ष जग्गाको मूल्याङ्कन गरी मूल्य बढाएको छ । देशभरका भएको कारोबारमध्ये उच्च घरजग्गा किनबेच हुँदै आएको चितवन जिल्लाले दुई वर्षपछि जग्गाको मूल्य बढाएको मालपोत कार्यालयहरूले जनाएको छ ।

चितवन जिल्लामा भरतपुर, चनौलीबजार, माडी र खैरनी गरी ४ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये भूमि, व्यवस्थापन तथा अभिलेख विभागमा ३ वटा मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्याङ्कन विवरण उपलब्ध गराएका छन् भने खैरहनीको भने बाँकी रहेको विभागले जनाएको छ ।

विभागमा समावेश भएको विवरणअनुसार चितवन जिल्लामा रहेका मालपोत कार्यालयहरूले दुई वर्षपछि जग्गाको मूल्य १० प्रतिशतदेखि ५० प्रतिशतसम्म बढाएको छ ।

चितवनमा रहेको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको भरतपुरमा १० प्रतिशतले मूल्य बढाएको मालपोत कार्यालय प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए । उनकाअनुसार कोरोना महामारीका कारण दुई वर्षसम्म मूल्य बढेको थिएन । त्यसैले, भरतपुर मालपोत कार्यालयको क्षेत्रधिकार पर्ने जग्गाको मूल्य १० प्रतिशतले बढाएको छ ।

भरतपुर मालपोतले २८ लाखसम्म मूल्य बढायो

यातायात, विद्यालय तथा अस्पतालसहित अन्य विभिन्न भौतिक पूर्वाधारको विकासले सुविधासम्पन्न सहरको रुपमा स्थापित चितवनको भरतपुर क्षेत्रको जग्गाको न्यूनतम मूल्य कार्यालयले प्रतिकठ्ठा नै ३ करोड बढी तोकेको छ ।
यसअघि भरतपुर नगरपालिका वडा नम्बर १ का लायन्स चोकबाट शहिद चोक, पुल्चोक हुँदै नारायणी पपुसम्मका महेन्द्र राजमार्गसँग जोडिएका घडेरी जग्गाको मूल्य प्रतिकठ्ठा २ करोड ८० लाख रुपैयाँ तोकेको थियो । मालपोत कार्यालय भरतपुरले यो वर्ष मूल्य बढाएर प्रतिकठ्ठा ३ करोड ८ लाख रुपैयाँ तोकेको छ ।

उक्त क्षेत्रमा रहेको जग्गाको मूल्य कार्यालयले २८ लाख रुपैयाँले बढाएको छ ।

त्यस्तै, यसअघि मुग्लिन नारायाणगढ राजमार्ग वडा नम्बर १, ३ सिमानाबाट पुल्चोकसम्मका घडेरी जग्गा र शहिदचोकबाट बालकुमारप् मावि जाने चोकसम्मको जग्गाको मूल्य प्रतिकठ्ठा २ करोड १६ लाख रुपैयाँ रहेकोमा यो वर्ष २४ हजार रुपैयाँले बढाएर २ करोड ४० लाख रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, कार्यालयले वडा नम्बर १ मा पर्ने जग्गाको वर्गअनुसार प्रतिकठ्ठा न्यूनतम मूल्य ३ लाख १० हजारदेखि १ करोड ५५ लाख रुपैयाँ मूल्य तोकेको छ ।

कार्यालयले भरतपुर महानगरपालिका वडा नम्बर २ मा पर्ने जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा १९ लाखदेखि १ करोड ५५ लाख रुपैयाँसम्म, वडा नम्बर ३ मा पर्ने जग्गाको १० लाखदेखि २ करोड ८५ लाखसम्म, वडा नम्बर ४ मा पर्ने जग्गाको ११ लाखदेखि ४८ लाख ५० हजारसम्म, वडा नम्बर ५ मा पर्ने जग्गाको ८ लाख ८० हजारदेखि ३७ लाख ५० हजारसम्म, वडा नम्बर ६ का जग्गाहरुको ४ लाख ४० हजारदेखि २६ लाख ५० हजारसम्म, वडा ७ का जग्गाको ११ लाखदेखि ६२ लाखसम्म र वडा ८ का जग्गाहरुको ११ लाखदेखि ४७ लाख ५० हजारसम्म न्यूनतम मूल्याङ्कन गरेको छ ।

त्यसैगरी, कार्यालयले भरतपुर महानगरपालिका वडा नम्बर ९ का जग्गाको मूल्य प्रतिकठ्ठा ११ लाखदेखि १ करोड २ लाखसम्म, वडा १० को जग्गाको १८ लाखदेखि १ करोड २ लाखसम्म, वडा ११ को जग्गाको ११ लाखदेखि ७७ लाखसम्म, वडा नम्बर १२ को जग्गाको १२ लाखदेखि ८८ लाख रुपैयाँसम्म, वडा १३ का जग्गाको ४ लाख ४० हजारदेखि २३ लाख ५० हजारसम्म, वडा १४ को जग्गाको ३ लाखदेखि २२ लाखसम्म, वडा १५ को जग्गाको ४ लाख ५० हजारदेखि ३५ लाख ५० हजारसम्म, वडा १६ को ४ लाख ५० हजारदेखि २० लाखसम्म, वडा २२ को जग्गाको २ लाख २० हजारदेखि १८ लाखसम्म र वडा २९ का जग्गाको ११ लाखदेखि १९ लाख रुपैयाँसम्म न्यूनतम मूल्य तोकेको छ ।

कार्यालयले रन्तनगर नगरपालिकामा रहेका जग्गाका न्यूनतम मूल्य प्रतिकठ्ठा ९ लाख ९० हजारदेखि ४९ लाख रुपैयाँसम्म र कालिका नगरपालिकामा रहेका जग्गाको १ लाख १० हजारदेखि २३ लाख रुपैयाँसम्म तोकेको छ ।

चनौली मालपोतले १० प्रतिशतले बढायो मूल्य

चितवन जिल्लाकै चनौलीबजार मालपोत कार्यालयले पनि १० प्रतिशतले मूल्य बढाएको छ । कायालयले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेका जग्गाको प्रतिकठ्ठा न्यूनतम मूल्याङ्कन ३ लाख १५ हजारदेखि १३ लाख ५६ हजार रुपैयाँसम्म, वडा नम्बर १७ मा रहेका जग्गाको ६ लाख ५ हजारदेखि २७ लाख ८५ हजारसम्म, वडा नम्बर १८ का जग्गाको ५ लाख ४५ हजारदेखि २७ लाख १० हजारसम्म, वडा नम्बर १९ का रहेका जग्गाको ६ लाख ६६ हजारदेृखि २७ लाख १० हजारसम्म, वडा नम्बर २० मा रहेका जग्गाको ३ लाख ६३ हजारदेखि २७ लाख १० हजारसम्म र वडा नम्बर २३ र १४ मा रहेका जग्गाको ३ लाख १५ हजारदेखि १५ लाख १३ हजार रुपैयाँसम्म मूल्य तोकेको छ ।

त्यसैगरी, सोही महानगरपालिकाको वडा नम्बर २५ मा रहेका जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा २ लाख ७८ हजारदेखि १३ लाख ५५ हजारसम्म, वडा २६ का जग्गाको २ लाख ७३ हजारदेखि २३ लाख ६० हजारसम्म, वडा २७ र २८ मा रहेका जग्गाको २ लाख ७३ हजारदेखि १८ लाख ६४ हजार रुपैयाँसम्म मूल्य तोकेको छ ।

माडी मालपोतले ५० प्रतिशतसम्म मूल्य बढायो

चितवन जिल्लाकै मालपोत कार्यालयले ५० प्रतिशतसम्म मूल्य बढाएको छ । कार्यालयले न्यूनतम १० प्रतिशतदेखि ५० प्रतिशतसम्म मूल्य बढाएको हो ।

मालपोत कार्यालयले विगतको दिनमा १० लाख रुपैयाँ कायम गरेको जग्गाको मूल्य अहिले बढाएर १५ लाख पुर्याएको न्यूनतम मूल्याङ्कन विवरणले देखाउँदछ ।

कार्यालयले माडी नगरपालिका वडा नम्बर १ मा रहेका जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा २ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म तोकेको छ । त्यस्तै, वडा नम्बर २ मा रहेका जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा २ लाखदेखि १५ लाखसम्म, वडा नम्बर ३ मा रहेका जग्गाको २ लाखदेखि ५० लाख रुपैयाँसम्म, वडा ४ मा रहेका जग्गाहरुको २ लाखदेखि १० लाखसम्म, वडा ५ र ६ मा रहेका जग्गाहरुको २ लाखदेखि २० लाखसम्म, वडा ७ का जग्गाको २ लाखदेखि १५ लाखसम्म, वडा ८ र ९ का जग्गाको २ लाखदेखि १० लाखसम्म र सबै वडाको १ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।


क्लिकमान्डु