क्युआर प्रयोग ३०० प्रतिशतले वृद्धि, मोबाइल बैंकिङमा पनि उछाल




काठमाडौं । ठूला डिपार्टमेन्ट स्टोरदेखि साना पसलमा पनि क्युआर स्क्यानको सुविधा उपलब्ध हुँदै गएपछि यसबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम महिना असारको वित्तीय विवरणअनुसार १४ अर्ब ५२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार अघिल्लो वर्ष २०७७/७८ को तुलनामा २९७.८६ प्रतिशतले वृद्ध भएको छ ।

अघिल्लो वर्षको असार महिनामा क्युआर कोडबाछ ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको अन्तसम्म आइपुग्दा मोबाइल बैंकिङ कारोबारमा पनि उछाल आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ अगाडि बढाएपछि मोबाइल बैंकिङमा उल्लेख्य वृद्धि भएको हो ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा १ खर्ब ६३ अर्ब २५ लाख रुपैयाँभन्दा धेरैको मोबाइल बैंकिङ कारोबार भएको छ । गत अघिल्लो वर्ष २०७७/७८ को तुलनामा १२१.४२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ बराबरको मोबाइल बैंकिङ कारोबार भएको थियो ।

क्युआर प्रयोग र मोबाइल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि भइरहँदा मोबाइल वालेट भने सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असार महिनामा ३८.७९ प्रतिशतले कारोबार वृद्धि भएको छ ।

अघिल्लो वर्ष २०७७/७८ मा मोबाइल वालेटबाट भएको कारोबार १२ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा गत आर्थिक वर्षको असार महिनामा १७ अर्ब ७५ करोड १० लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, इन्टरनेट बैंकिङमा पनि सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्ष इन्टरनेट बैंकिङबाट १३ प्रतिशतले वृद्धि हुँदै १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । अघिल्लो वर्ष १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा कार्डबाट भुक्तानी गर्ने अनलाइन सपिङको कारोबार पनि बढेको छ । अघिल्लो वर्ष २९ करोड ६० लाख यस्तो कारोबार भएकोमा गत आर्थिक वर्षमा ५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


क्लिकमान्डु